मेलम्चीको अन्तिम सुरुङ एक महिनाभित्र ‘ब्रेक थ्रु’

राजधानीबासीको पिउने पानीको भरोसा वहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको अन्तिम सुरुङ अब एक महिना भित्रनै ब्रेक थ्रु हुने भएको छ ।
राजधानीमा दैनिक १७ करोड लिटर पानी ल्याउने योजनासाथ अघि बढेको योजनाको सुरुङ मार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । अहिले धमाधम काम भैरहेको छ ।

दुई दशकअघि निर्माण सुरु गरेको उक्त योजनामा अब दुई सय ६० मिटरमात्र सुरुङ खन्न बाँकी छ । सिन्धु–ग्याल्थुम खण्ड ब्रेक थु्र गर्न काम भइरहेको आयोजनाले जनाएको छ । फागुन अन्तिम साता वा चैत्र पहिलो सातासम्म आयोजनाको मुहानस्थल अम्बाथान–सुन्दरीजल सुरुङमार्ग जोड्ते तयारीका साथ तीव्र गतिमा काम भएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । अब अधिकतम एक महिना भित्रमा सुरुङको ब्रेक थु्र हुने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रराज पन्तले क्यापिटल नेपाललाई बताए ।

साढे २७ किलोमिटर लामो सुरुङमार्गमध्ये २७ हजार २ सय ४० मिटर सुरु खन्ने काम सम्पन्न भइसकेको छ । इटालियन ठेकेदार कम्पनी सीएमसीले पनि एक महिनाभित्रै सुरुङमार्ग ब्रेक थ्रु गर्ने प्रतिबद्धता जनाएका छन् । सबैभन्दा लामो सुन्दरीजल–सिन्धु खण्ड गतवर्ष नै जोडिएको थियो भने ग्याल्थुम–अम्बाथान खण्ड गत पुसमा ब्रेक थ्रु भएको थियो । सुरुङको भित्री भाग ढलान गर्ने र इन्टेक निर्माणको काम पनि भइरहेको छ ।

सुन्दरीजलमा मेलम्चीबाट आउने १७ करोडमध्ये साढे आठ करोेड लिटर क्षमताको पानी प्रशोधन केन्द्र निर्माण भइसकेको छ । बाँकी साढे आठ करोड लिटर क्षमताको अर्को प्रशोधन केन्द्र निर्माण भइरहेको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा यो परियोजना अघि बढाएको हो । सुन्दरीजल प्रशोधन केन्द्रबाट निर्मलीकरण गरिएको पानी काठमाडौं उपत्यकाका विभिन्न ११ स्थानमा विशाल पानी ट्यांकीमा संकलन गरेर वितरणको प्रबन्ध मिलाइनेछ ।

आयोजनाले राजधानीमा ७७ किमी वितरण प्रणालीमध्ये ७० किलोमिटर पाइप विच्याइसकेको छ । उपत्यकामा पानी वितरण गर्न ८४ हजार २१७ घरमा धारा जडान गर्नुपर्नेमा हालसम्म ४५ हजार १ सय ८६ घरमा धारा जडान गरिएको छ ।

निर्माणको जिम्मा लिएको इटालियन कम्पनी कोअपेरटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सिएमसी)ले सम्झौता अनुसार निर्धारित समयमा काम नगर्दा यो परियोजना लम्बिएको हो । आयोजनालाई दुई खण्डमा विभाजन गरेर काम गरिएको छ । आयोजनामा अहिलेसम्म २३ अर्ब ६७ लाख २६ हजार रुपैयाँ खर्च भएको खानेपानी तथा सरसफाई मन्त्रालयले जनाएको छ ।