लागुऔषध कारोबारीमाथि गोली प्रहार

प्रहरीले थापाको साथबाट नर्फिन, फेनार्गन र डाइजोपामलगायतका एक हजार ५०० थान लागुऔषध बरामद गरेको जनाएको छ ।

पोखरा । पोखराको उत्तमचोकमा एक लागुऔषध कारोबारीमाथि प्रहरीले गोली चलाएको छ । लागुऔषध बोकेर हिँडेको सूचनाको आधारमा बुझ्न गएको प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरीले जनाएको छ ।

लागुऔषध कारोबारीले प्रहरीमाथि आक्रमण गरेपछि नियन्त्रणमा लिने क्रममा प्रहरीले घुँडाभन्दा तल खुट्टामा गोली चलाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता गणेश सुवेदीले जानकारी दिए । उनका अनुसार प्रहरीले चलाएको गोली लागेपछि घाइते भएका लागुऔषध कारोबारी जोनर डिके भनिने करिब ३० वर्षीय गोविन्द थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । प्रहरीले थापाको साथबाट नर्फिन, फेनार्गन र डाइजोपामलगायतका एक हजार ५०० थान लागुऔषध बरामद गरेको जनाएको छ ।

लागुऔषध काराेबारी थापा यसअघि कतारमा सन् २०१४ देखि २०१८ सम्म कारागार बसेका थिए भने नेपालमा २०७५ साल वैशाख २ गते ज्यान मार्ने उद्योगमा कारागार चलान भएका थिए ।

लागुऔषध कारोबारीको आक्रमणबाट एक प्रहरी असई सन्तोष सुवेदीको बायाँ खुट्टा र तिघ्रामा चोट लागेको उनले जानकारी दिए । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान शुरु गरेको जनाएको छ ।   रासस