विदेशबाट फर्किएपछि व्यावसायिक बाख्रापालनमा युवा

पाँच वर्ष छिमेकी देश भारत र दश वर्ष कतारमा पसिना बगाउँदै जागिर गर्दै आएका मधुसुदन भट्टराई र तीन वर्ष मलेशिया बसेर फर्किएका ऋषिराम रेग्मी र राजु रेग्मीले यतिबेला गाउँमै व्यावसायिकरूपमा बाख्रापालन सुरु गरेका छन् ।

तम्घास । स्वदेशमा बसेर काम गर्नुभन्दा विदेश पुगेर जागिर गरेपछि मनग्य कमाइ हुन्छ भन्ने सपना बोकेर विदेशिएका गुल्मी मालिकाका केही युवा यतिबेला स्वदेशमै फर्किएर आफ्नै गाउँघरमा रमाउन थालेका छन् ।

पाँच वर्ष छिमेकी देश भारत र दश वर्ष कतारमा पसिना बगाउँदै जागिर गर्दै आएका मधुसुदन भट्टराई र तीन वर्ष मलेशिया बसेर फर्किएका ऋषिराम रेग्मी र राजु रेग्मीले यतिबेला गाउँमै व्यावसायिकरूपमा बाख्रापालन सुरु गरेका छन् ।

गाउँमा आफ्नै दाजुभाइ कपिल रेग्मी र खिमलाल रेग्मीसँगै पाँच युवा मिलेर मालिका–मदाने कृषि उत्पादन तथा वितरण उद्योगको नाममा फार्म दर्ता गरेर उनीहरुले व्यावसायिकरूपमा बाख्रापालन गर्न सुरु गरेका हुन् ।

‘विदेशमा बसेर काम गर्नुभन्दा आफ्नै देशमा सजिलो र परिवारसँगै सुखदुःख साटासाट गररे काम गर्दा मन पनि निकै खुशी हुन्छ’, १० वर्ष विदेश बसेर फर्किएका कपिल रेग्मी बताउँछन् ।

सुरुमा आफ्नै घर र वरपरबाट जम्मा गरेर स्थानीय जातका १७ बाख्राबाट ती युवाले बाख्रापालन व्यवसाय शुरु गरेका हुन् । ‘वर्षौँसम्म विदेशमा काम गर्दा पनि भनेजस्तो राम्रो कमाइ गर्न सकिएन, त्यसैले स्वदेशमै फर्किएर केही गर्नुपर्छ भन्ने लागेर घर फर्कने निधो गरेको हूँ, अहिले केही गर्नुपर्छ भनेर यो पेशा शुरु गरेका छौँ’, अर्का युवा मधुसुदन भट्टराईले भने । ती युवाले स्वदेशमा फर्किएपछि गाउँमै ऋणधन गरेर १६ लाख लागतमा बस्ने घरसहित बाख्रा फार्म स्थापना गरेको बताए ।

गत वर्षदेखि व्यावसायिकरूपमा बाख्रा फार्म शुरु गरेपछि यतिबेला उनीहरुको दिनचर्या बिहानदेखि बेलुकासम्म बाख्राको हेरचाहमा बित्न थालेको छ ।

उनीहरुले पालेका बाख्रा स्थानीय जातका भएका कारण अन्य जातका बाख्राको तुलनामा केही साना छन् । तर साना भए पनि गाउँघरमा पूजाआजामा चढाउनका लागि स्थानीय बाख्राको आवश्यकता पर्ने भएका कारण मूल्य पनि अन्य बाख्राको तुलनामा स्थानीय बाख्राको राम्रो पर्ने गरेको उनीहरुको अनुभव छ ।

व्यावसायिकरूपमा बाख्रापालन गरेपछि उनीहरुले प्रदेशअन्तर्गत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट रु चार लाख र स्थानीय मालिका गाउँपालिकाबाट रु ५० हजार अनुदान रकमसमेत प्राप्त गरेका छन् ।

उक्त रकम उनीहरुले बाख्राको व्यवस्थापन र केही रकम भौतिक व्यवस्थापनमा खर्चिएको बताए । सरकारले दिएको अनुदान भनेको खानलाई मात्र होइन, केही गरेर देखाउनुपर्छ भनेर ती युवाले सुरु गरेको कामबाट आफू पनि प्रभावित बनेको बताउँछन्, कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख अम्मरराज शर्मा घिमिरे ।

उनले स्थानीय जातका बाख्राको संरक्षण गर्न सकेमा यसबाट मनग्य आम्दानी र फाइदा दुवै लिन सकिने बताए ।