बढ्यो सार्वजनिक यातायातको भाडा, ट्याक्सी चढ्ने बित्तिकै ५० रूपैयाँ

इन्धन र पार्टपुर्जाको मूल्य वृद्धि भएको भन्दै यातायात व्यवस्था विभागले असार १ गतेदेखि लागू हुने गरी भाडा वृद्धि गर्न लागेको हो ।

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडादर बढाएको छ । इन्धन र पार्टपुर्जाको मूल्य वृद्धि भएको भन्दै यातायात व्यवस्था विभागले असार १ गतेदेखि लागू हुने गरी भाडा वृद्धि गर्न लागेको हो ।

विभागले सवारी साधनमा १२ प्रतिशत भाडा वृद्धि गरिएको जनाएको छ । भाडा बढेपछि सर्वसाधारण मारमा पर्ने भएका छन् । प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धि निर्णय गरेको विभागले जनाएको छ ।

लामा तथा छोटा मालबाहक बस, यात्रुबाहक बसका लागि २० प्रतिशत भाडा बढाइएको विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए । ट्याक्सीको भाडादरमा भने नयाँ व्यवस्था गरिएको छ । ट्याक्सीको भाडादरमा न्युनतम प्रतिकिलोमिटर ५० रुपैयाँ र त्यसभन्दा बढि दुरीका लागि प्रतिकिमी ८.८० पैसा रुपैयाँ भाडा तय गरिएको विभागले जनाएको छ ।

विभागले २०६९ सालदेखि भाडा समायोजन नभएको र सबै पक्षबीच छलफल र वार्ताबाट वैज्ञानिक भाडा समायोजन गरिएको दाहालले बताए ।

सरकारले सार्वजनिक यातायात (बस ट्याक्सी) को भाडा वैज्ञानिक मूल्य समायोजनको नाममा संविधान प्रदत्त उपभोक्ताको गुणस्तरीय वस्तु र सेवा उपभोग गर्ने अधिकारमाथि प्रहार भएको उपभोक्ता अधिकार अनुसन्धान मंचका अध्यक्ष माधव तिमेल्सिनाको भनाइ छ ।

उनले सेवाको गुणस्तरमा वृद्वि नगरी यातायात क्षेत्रमा आम उपभोक्तालाई चरम ठगी, ट्यक्सीमा बार्गेनिङको अवस्था, सर्वसुलभ र भरपर्दो यात्रा गर्ने ग्यारेन्टीबिना व्यवसायीको दबाब र प्रभावमा यातायातकाे भाडा बृद्वि गरिएको बताए । भाडा बृद्धिले सम्पूर्ण आम उपभोक्ता वर्गमा पर्न जाने असुविधाप्रति ध्यानाकर्षण गर्दै तिमेल्सिनाले सरकारलाई तत्काल बढाएको अवैज्ञानिक भाडा बृद्वि फिर्ता गर्न अनुरोध गरेका छन् ।