दाङको देउखुरीमा वैज्ञानिक वन व्यवस्थापन सुरु

देउखुरीका चार पालिका क्षेत्रमा रहेका १४८ सामुदायिक वनमध्ये १७ सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको कार्ययोजना शुरु भएको डिभिजन वन कार्यालय लमहीले जनाएको छ ।

दाङ । दाङको देउखुरीमा वन डिभिजन कार्यालय लमहीले वनको संरक्षण तथा प्रवद्र्धनका लागि वैज्ञानिक वन व्यवस्थापन सुरु गरेको छ । देउखुरीका चार पालिका क्षेत्रमा रहेका १४८ सामुदायिक वनमध्ये १७ सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको कार्ययोजना शुरु भएको डिभिजन वन कार्यालय लमहीले जनाएको छ ।

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत लालबाबु यादवका अनुसार १५ सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको काम लागू पनि भइसकेको छ । वैज्ञानिक वन व्यवस्थापनको मुख्य उद्देश्य सामुदायिक वनमा रहेका बूढा, पुराना, ढलेका रुख हटाएर नयाँ बिरुवा उत्पादन गर्नु रहेको छ । पुराना रुखभित्र किरा लाग्ने र धोद्रिँदा ती रुखको काठ काम नलाग्ने हुँदा समयमै त्यसको उपयोग गरी नयाँ बिरुवा उत्पादन गर्ने तयारीमा वन कार्यालय लागेको छ ।

देउखुरीको राजपुर गाउँपालिकास्थित प्रतापपुरमा त्रिशक्ति सामुदायिक वन, शिव सामुदायिक वन र गढवा गाउँपालिकामा रहेको सूर्य सामुदायिक वनलगायतमा वैज्ञानिक वन व्यवस्थापनअन्तगर्तका काम भएका छन् । सामुदायिक वन उपभोक्ताबाट पनि वैज्ञानिक वन व्यवस्थापनको विषयमा चासो देखाउँदै सक्रिय सहभागिता रहँदै आएको छ ।

वैज्ञानिक वन व्यवस्थापनको विषयमा कानूनी स्पष्टता नभएकै कारण समस्या हुने गरेको त्रिशक्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरिबहादुर विकले जानकारी गराए । ‘सालका बूढा रुख सबै भित्रभित्रै कुहिएका छन्, राखेर फाइदा छैन, समयमै यसलाई व्यवस्थापन गर्न सकियो भने नयाँ बिरुवा हुर्कन पाउँछन्’, उनले भने, ‘उक्त सामुदायिक वनको ५०० हेक्टरमध्ये प्रत्येक वर्ष पाँच हेक्टर क्षेत्रमा वन व्यवस्थापनको काम गर्ने योजना रहेको छ ।’

त्यसो त सोही वनसँगैको शिव सामुदायिक वनमा पनि पुरानो रुखको सङ्ख्या अत्यधिक भएको, चरीचरन नरोकिँदा नयाँ सालको बोटबिरुवा उत्पादन हुन छाडेपछि जङ्गलमै जोतेर नयाँ सालको बिरुवा उत्पादनको काम सुरु गरिएको छ । पुनःउत्पादन प्रवद्र्धन कार्यक्रमअन्तर्गत २० हेक्टर क्षेत्रमा नयाँ सालको बिरुवा उत्पादनको कामको थालनी गरिएको हो ।

सालको प्रजाति नै लोप हुने अवस्थाका कारण पुनःउत्पादन प्रवद्र्धन कार्यक्रम लागू गरिएको डिभिजन वन कार्यालय देउखुरीका सहायक वन अधिकृत प्रेमीलालप्रसाद शाहले जानकारी दिए ।

सालको रुख सामान्यता ८० वर्षमा तयार हुने गर्दछ । देउखुरीको धेरैजसो वनमा ३०० वर्ष पुराना रुख रहेका कारण ती रुखमा किरा लाग्ने र भित्र गाबी नभएर धोद्रोपन रहने गरेको वन कार्यालयले जानकारी दिएको छ । पचास प्रतिशतभन्दा बढी सालको रुख ३०० वर्ष पुरानो रहेको वन कार्यालयको प्रारम्भिक अध्ययनले देखाएको छ । काठका लागि प्रयोग गर्न मिल्ने अवस्थामा नहुँदा पुराना रुख काटेर दाउराको रुपमा प्रयोग गर्नुपर्ने अवस्था आएको डिभिजन वन कार्यालयको भनाइ छ ।

देउखुरीका सामदायिक तथा राष्ट्रिय वनको संरक्षणका लागि पछिल्लो समय देउखुरी क्षेत्रमा पनि वन कार्यालयले सक्रियता देखाएको छ । यस क्षेत्रमा पनि वन कार्यालय स्थापना भएपछि वन कार्यालयले वन संरक्षणको काममा सक्रियता देखाएको हो । देउखुरी वन डिभिजन कार्यालय स्थापना भएदेखि सामुदायिक वन व्यवस्थापनको हकमा राम्रो सुधार भएको छ भने काठ चोरी तस्करीमा संलग्नलाई नियन्त्रण गर्ने काम पनि गरिरहेको छ ।

वन कार्यालयलले वन क्षेत्रमा हुने काठ र वन्यजन्तु तस्करी नियन्त्रणको मात्रै होइन, पर्यावरण क्षेत्रमा पनि उत्तिकै सक्रिय भएर काम गरेको छ । एक गाउँपालिका एक पोखरी निर्माण, त्यस्तै पर्यावरण क्षेत्र र सीमसार क्षेत्रको संरक्षणको काम पनि गरिरहेको वन कार्यालयले जनाएको छ । वन डिभिजन कार्यालयका सूचना अधिकारी प्रेमीप्रसाद शाहका अनुसार सामुदायिक वनमा तारजाली लगाउने, नर्सरी स्थापना गर्ने, पर्यटन क्षेत्रसँग सम्बन्धित कामका लागि बजेट विनियोजन गरिएको छ । रासस