चिठ्ठा परेको भन्दै ‘इमो’मार्फत ठगी गर्ने पक्राउ

निजहरुले चिठ्ठा परेको भन्दै शेर्पालाई दस्तुर (कर) बापत पटक–पटक गरी मरिकको नाममा रु ४५ हजार र ७५ हजार गरी एक लाख २० हजार रुपैयाँ विराटनगरको एक बैङ्कको खातामा रकम पठाएपछि मरिक सम्पर्कविहीन भएका थिए ।

मोरङ । चिठ्ठामा २५ लाख परेको भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले विहीबार पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–११ बस्ने २३ वर्षीय निरज मरिक र मोरङ धनपालथान गाउँपालिका–६ बस्ने ३६ वर्षीय श्रवण मलहाले इलाम जिल्ला इलाममाई नगरपालिका–८ बस्ने पासाङ शेर्पालाई ‘इमो’ मार्फत चिठ्ठा परेको छ भन्दै सन्देश पठाई एक लाख २० हजार ठगी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

निजहरुले चिठ्ठा परेको भन्दै शेर्पालाई दस्तुर (कर) बापत पटक–पटक गरी मरिकको नाममा ४५ हजार र ७५ हजार गरी एक लाख २० हजार रुपैयाँ विराटनगरको एक बैङ्कको खातामा रकम पठाएपछि मरिक सम्पर्कविहीन भएका थिए ।

पक्राउ परेका मलाहा यसअघि विसं २०७५ पुस २६ गते यसरी नै ठगीमा पक्राउ परी जिल्ला अदालत मोरङबाट रु दुई लाख धरौटीमा छुटेका थिए ।

निजहरुलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम ठगीसम्बन्धी कसूरअन्तर्गत अनुसन्धान तथा कारवाही पक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ । रासस