नवनियुक्त अर्थमन्त्री डा. खतिवडाले भने,‘अन्तराष्ट्रिय साख बढाउने गरि काम गर्छौ’

मान्छेको क्षमताको पहिचान संकटका बेलामा हुन्छ । जतिसुकै संकट र समास्या आएपनि हाम्रो टिमले समाधान गर्न सक्छ भन्ने मलाई लागेको छ ।

म एउटा विकासवादी चिन्तन गर्दै आएको व्यक्ति हुँ । मेरा केहि मान्यताहरु छन्, ती समकालिन अभ्यासहरु भन्दा धेरै टाढा छैनन् । समय, परिस्थिती र राजनीतिक प्रणालीले अघि सारेका नयाँ कुराहरु बाहेक हामीले धेरै कुराहरु हिजोकै निरन्तरताका रुपमा अघि बढाउने हो । हामीले गर्ने नयाँ काम बारे प्रधानमन्त्रीको निर्देशनपछि अघि बढाऔंला ।

आज कार्यभार सम्हालिरहँदा मेरा केहि योजनाहरु छन् । हामीलाई आर्थिक नीतिको स्वरुप कस्तो हुन्छ भनेर बहस गर्नुपर्ने अवस्था छैन् । संबिधानमा उल्लेख गरिएका मौलिक हक र संबिधानमा लेखिएका राज्यका निर्देशक सिद्धान्तहरुको कार्यान्वयन हाम्रो दायीत्व हुनेछ ।

दोश्रो कुरा अहिले हामी बाम गठबन्धनका तर्फबाट सरकारमा सहभागी भएका छौं ।

हामीले चुनावी घोषणा पत्रमा जनतासँग गरिएका प्रतिवद्धताहरु पुरा गराउनुपर्नेछ । हाम्रा केहि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिवद्धताहरु छन् । निश्चित समयमा निश्चित उपलब्धि हासिल हुन्छ भनेका छौं । त्यो लक्ष्य पुरा गराउन लागिपर्नु पनि हाम्रो दायीत्व हुनेछ ।
अहिलेको संबिधानले मार्ग निर्दिष्ट गरे अनुसार सरकारका भूमिकाहरु निश्चित छन् ।

हामीले लोक कल्याणकारी राज्य हुँदै समाजवाद उन्मुख राज्य निर्माणको बाटोमा अघि बढ्नुपर्नेछ । तत्कालका लागि राज्यको भूमिकालाई अग्रणी, नेतृत्वदायी र अभिभावकिय बनाउन्ै पर्नेछ । साच्चै भन्ने हो भने सबै नागरिकको आर्थिक रुपमा सुरक्षा दिने जिम्मेवारी राज्यले लिन्छ र त्यसका लागि निजी क्षेत्र, सहकारी र सामुदायीक क्षेत्रसँग सहकार्य गर्छ । ती सहकार्यहरु परिपुरक हुनेछन् । हामी सबैसँग सहकार्य गरेर अघि बढ्न चाहान्छौं ।

अर्थतन्त्रमा केहि समस्याहरु छन्, केहि विकृतिहरु प्नि छन् । सरकारी वित्त व्यवस्थापनमा रहेका विकृतिहरुको अन्त्य गराउनुपर्नेछ । म आफैं पनि वित्त अनुशासनको पक्षपाती मान्छे हुँ । आर्थिक क्षेत्रका अनियमिताहरुको अन्त्य भएन भने समृद्धि तर्फ जान सकिँदैन् । त्यसले गरिबी निवारणका हाम्रा लक्ष्य पुरा हुन पनि दिँदैन् । त्यसकारण हामी सरकारी वित्त प्रणालीमा अनुशासन र पारदर्शिता ल्याउँछौं । खर्चको प्रभावकारीता ल्याइनेछ ।
समग्रमा भन्ने हो भने वित्त व्यवस्थापनमा कुशलता र पारदर्शिता ल्याइनेछ । वित्तिय प्रणालीमा पनि धेरै काममा स्थायीत्व ल्याउनुपर्नेछ । साधन श्रोतलाई उत्पादनशिल क्षेत्रमा लगाउनुपर्नेछ । काम र उत्पादनका अवसरहरुको सृजना गराउनुपर्नेछ ।

हामीसँग भएको सिमित श्रोत साधन त्यस तर्फ लगाएनौं भने निर्यातले आयातको सात आठ प्रतिशत पनि धान्न नसक्ने अवस्था छ । त्यसले भुक्तानी असन्तुलनको अवस्था सृजना भैरहनेछ । यो बाह्य कारणले उत्पन्न भएको होइन । हाम्रो ढंगले आर्थिक व्यवस्थापन गर्न नसकेकाले यस्तो समस्या आएको हो ।
जति पनि हाम्रा संरचनात्मक समस्या छन तिनको समाधान गरेर वित्तिय स्थायीत्व ल्याइनेछ । अर्काे कुरा भनेको उच्च आर्थिक वृद्धिदर कायम गराउनु पर्नेछ । त्यसको आधार भनेको निजी क्षेत्र नै हो । आन्तरिक तथा बाह्य निजी क्षेत्रको लगानी भित्र्याएर उच्च दरको आर्थिक वृद्धिदर कायम गराइनेछ ।

हामीले परिकल्पना गरेका विकास र पुर्वाधारका आयोजनाहरुको कार्यान्वयन, समाजिक न्याय सहितको विकासका लागि निजी क्षेत्रलाई प्रोत्सहन गरिनेछ । नीतिगत सुधारहरुलाई अनुकुल बनाइनेछ, प्रशासनिक सुधारलाई तिब्रता दिइनेछ । लगानी बोर्डलाई अझ सक्रिय र प्रभावकारी बनाइनेछ । नीजी क्षेत्रसँग सम्बन्धित निर्णय प्रक्रियालाई अझै सहज बनाइनेछ ।

हामीले जति सुकै जे भने पनि अन्तराष्ट्रिय सहयोग र लगानी बिना उल्लेख्य प्रगति गर्न सक्दैनौं । त्यसका लागि त्यस्ता अन्तराष्ट्रिय सहयोग र प्रबिधी हस्तान्तरणहरुलाई हाम्रो राष्ट्रिय स्वार्थ अनुकुलु भित्र्याउने र उपयोग गर्नुपर्छ । श्रम बजारको सम्बन्धलाई पनि त्यसै अनुरुप विस्तार गरिनेछ ।

अन्तराष्ट्रिय सहयोगलाई राष्ट्रिय प्राथमिकताका आधारमा उपयोग गर्नेछौं । ऋण तिर्न सक्ने र क्षमता विकास गर्न सक्ने तथा हाम्रो अन्तराष्ट्रिय शाख बढाउने गरि काम गर्छाै । बढि भन्दा बढि अन्तराष्ट्रिय सहयोग भित्र्याउने गरि काम गर्छाै । आजै धेरै कुरा नगरौं, हामीले योजना बनाउने हो र सबैसँगै मिलेर देश बनाउने बाटोमा अघि बढ्ने हो ।

(नव नियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले पदभार गरेपछि दिएकाे मन्तव्य सम्पादित अंश)