no-image

वैदेशिक रोजगार विभागका तत्कालीन महानिर्देशक विश्वनाथ पाण्डे भ्रष्टाचार अभियोगमा पक्राउ परेको दुई सातापछि पनि विभागले नयाँ महानिर्देशक पाएको छैन । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर निर्वाचन कार्यक्रममा जिल्लामा हुँदा महानिर्देशकको जिम्मेवारीसमेत कसैलाई तोकिएको छैन । विभागमा महानिर्देशक नहुँदा न्यायिक निर्णय गर्ने समस्या भएको विभागले जानकारी दिएको छ ।

महानिर्देशक नहुँदा विभागमा ठूला निर्णय लिन समस्या परिरहेको विभागका निर्देशक माहेन अधिकारीले बताए । ‘विशेषगरी दुई सातादेखि न्यायिक निर्णय हुन सकेको छैन,’ उनले भने । अहिले म्यानपावर रोक्का, फुकुवा, जरिवाना गर्ने र नयाँ लाइसेन्स दिने विषयमा कुनै पनि निर्णय नभएको उनले बताए ।

विभागका तत्कालीन महानिर्देशक पाण्डे कात्तिक २९ गते अख्तियारबाट पक्राउ परेका थिए ।१० लाख रुपैयाँ घुससहित विभागका शाखा अधिकृत कृतिबल्भव पौडेल र नायव सुब्बा खड्गबहादुर केसीलाई अख्तियारले पक्राउ गरेको थियो । उनीहरुकै बयानका आधारमा अख्तियारले पाण्डेलाई पक्राउ गरेको हो ।