खप्तडमा बाजुरा, अछाम, डोटी र बझाङका आन्तरिक पर्यटक बढी अवलोकन तथा भ्रमणमा आउने गरेका निकुञ्जले जनाएको छ ।
खप्तड राष्ट्रिय निकुञ्जमा यस वर्ष न्यून पर्यटक भित्रिएका छन् ।
चालू आर्थिक वर्षमा हालसम्म २९ विदेशी पर्यटक भित्रिएको खप्तड राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले जानकारी दिए । निकुञ्जमा बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटक बढी आउने गरेका छन् ।
खप्तडमा बाजुरा, अछाम, डोटी र बझाङका आन्तरिक पर्यटक बढी अवलोकन तथा भ्रमणमा आउने गरेका निकुञ्जले जनाएको छ । निकुञ्जको भ्रमण गर्न आउने पर्यटकबाट चालू आको सात महिनामा दुई लाखभन्दा बढी राजश्व सङ्कलन भएको छ । आन्तरिक पर्यटकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । बाह्य पर्यटकबाट प्रतिव्यक्ति तीन हजार ३९० रुपैयाँका दरले भ्रमण शुल्क लिने गरिएको छ ।
खप्तड निकुञ्ज क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका साथै जनावरसमेत हेर्न सकिन्छ । यहाँ त्रिवेणी धाम, नागढुङ्गा, खप्तड स्वामीको आश्रम, २२ पाटनलगायत क्षेत्रको भ्रमण गरी मनोरञ्जन लिन सकिन्छ । निकुञ्जको संरक्षणका लागि चारओटा ठाउँमा इलाका कार्यालय छन् ।
खप्तड क्षेत्रमा जेठमा दशहरा मेला तथा जनैपूर्णिमाका दिन लाग्ने भव्य जात्रा हेर्न पर्यटकको घुइँचो लाग्छ । रासस