मुआब्जा विवादले ठेउलेखोला आयोजना रोकियो

बाँधदेखि विद्युत् गृहसम्मको दुई हजार ७०० मिटर पाइपलाइनअन्तर्गतको जग्गाबारे विवाद भएको छ । विवादपछि पाइपलाइन जोड्न बाँकी रहेको निर्माण कम्पनी बाराही हाइड्रोपावर लिमिटेडका अध्यक्ष इञ्जिनियर सूर्यप्रसाद अधिकारीले जानकारी दिए ।

बागलुङको जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजना निर्माणको काम अन्तिमचरणमा आएर रोकिएको छ । जग्गाको मुआब्जा विवादका कारण फागुनभित्रै विद्युत् उत्पादन गर्ने तयारी प्रभावित बनेको छ ।

बाँधदेखि विद्युत् गृहसम्मको दुई हजार ७०० मिटर पाइपलाइनअन्तर्गतको जग्गाबारे विवाद भएको छ । विवादपछि पाइपलाइन जोड्न बाँकी रहेको निर्माण कम्पनी बाराही हाइड्रोपावर लिमिटेडका अध्यक्ष इञ्जिनियर सूर्यप्रसाद अधिकारीले जानकारी दिए । जग्गाधनी खगेश्वर शर्माले मापदण्डभन्दा बढी मुआब्जा मागेपछि काम रोकिएको बताए । शर्माको चार रोपनी जग्गा आयोजना प्रभावित क्षेत्रमा पर्छ । उनले एक करोड पाँच लाख रुपैयाँ मुआब्जा माग गरेका छन् ।

आयोजनाले ३२ रोपनी जग्गाको मुआब्जा ९२ लाख रुपैयाँ वितरण गरिसकेको छ । ‘एउटै व्यक्तिको कारण आयोजनाको काम रोकिएको छ,’ अधिकारीले भने । जग्गाको सरकारी मूल्य र भएको क्षतिको मूल्याङ्कनका आधारमा मुआब्जा दिन तयार रहेको उनको भनाइ छ ।

निर्माण कम्पनी र जग्गाधनीबीच पाखो जग्गाको प्रतिरोपनी ४० हजार, बारीको ७० हजार र खेतको दुई लाख ५० हजार रुपैयाँ मुआब्जा दिने सहमति भएको थियो । सोही सहमतिअनुसार जग्गाधनीलाई मुआब्जा वितरण गरिएको आयोजनाले जनाएको छ ।

मुआब्जा विवाद समाधान गर्न जिल्ला प्रशासन कार्यालयले स्थानीयवासी चित्रप्रसाद चापागाईं, तिलक थापा, विष्णु आचार्य र चिरञ्जीवी आचार्य रहेको समिति गठन गरेको छ । ३३ करोड रुपैयाँको लागतमा बनेको साढे एक मेगावाट क्षमताको उक्त आयोजनाले जिल्लाको एक तिहाइ विद्युत् माग धान्ने बताइएको छ ।

जैमिनी नगरपालिका– १ र कुश्मीसेरा– ४ सर्कुवाको सीमामा रहेको ठेउलेखोलाको पानीलाई दुई हजार ७०० मिटरको पेनस्टक पाइपमार्फत् वडा नं– ५ विनामारेस्थित विद्युत् गृहमा पु¥याइएको छ । आयोजनामा प्रभावित क्षेत्रका स्थानीयवासीको समेत १० प्रतिशत संस्थागत सेयर छ । रासस