मुआब्जा विवादले ठेउलेखोला रोकियो

जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत आयोजना निर्माणको काम अन्तिमचरणमा आएर रोकिएको छ । जग्गाको मुआब्जा विवादका कारण फागुनभित्रै विद्युत् उत्पादन गर्ने तयारी प्रभावित बनेको छ ।

बाँधदेखि विद्युतगृहसम्म करिब एक हजार ९ सय मिटर पेनस्टक पाइपलाइन रहेकाे छ । जसमध्ये पावर हाउस नजिकै रहेकाे जग्गाकाे विवादका कारण १६ मिटर पाइपलाइन जाेड्ने काम बाँकी रहेकाे बाराही हाइड्रोपावर लिमिटेडका अध्यक्ष एवम् इञ्जिनियर सूर्यप्रसाद अधिकारीले जानकारी दिए ।

बाध तथा पानी थिग्रयाउने पाेखरीहरूकाे संरचना र करिब १ हजार ८ मिटर पेनस्टक पाइपकाे परीक्षण सम्पन्न भइसकेकाे छ । पावर हाउसमा जडान भएका उपकरणहरूकाे परीक्षण कार्य पनि सम्पन्न भएकाे छ । १६ मिटर पाइप जाेड्न  वित्तिकै परीक्षण उत्पादन कार्य अघि बढाउने अधिकारीले जानकारी  दिए ।

जग्गाधनी खगेश्वर शर्माले मापदण्डभन्दा बढी मुआब्जा मागेपछि काम रोकिएको हाे । परीक्षण तथा उत्पादनसम्बन्धी अन्य कार्य चालू रहेकाे छ । शर्माको चार रोपनी जग्गा आयोजना प्रभावित क्षेत्रमा पर्छ । उनले रु एक करोड पाँच लाख मुआब्जा माग गरेका छन ।

आयोजनाले ३२ रोपनी जग्गाको मुआब्जा रु ९२ लाख वितरण गरिसकेको छ । “एउटै व्यक्तिको कारण आयोजनाको काम रोकिएको छ,” अधिकारीले भने ।  जग्गाको सरकारी मूल्य र भएको क्षतिको मूल्यांकनका आधारमा मुआब्जा दिन तयार रहेको उनकाे भनाइ छ ।  ।

निर्माण कम्पनी र जग्गाधनीबीच पाखो जग्गाको प्रतिरोपनी रु ४० हजार, बारीको रु ७० हजार र खेतको रु दुई लाख ५० हजार मुआब्जा दिने सहमति भएको थियो । सोही सहमतिअनुसार जग्गाधनीलाई मुआब्जा वितरण गरिएको आयोजनाले जनाएको छ ।

मुआब्जा विवाद समाधान गर्न जिल्ला प्रशासन कार्यालयकाे राेहवरमा जैमिनी नगरपालिकासँग समन्वय गरी स्थानीयवासी चित्रप्रसाद चापागाईं, तिलक थापा, विष्णु आचार्य र चिरञ्जीवी आचार्य रहेकाे समिति गठन गरेको छ । समितिले माग गरेकाे १५ दिन भित्र प्रतिवेदन बुभाएकाे छैन । २१ गते १५ दिने म्याद सकिएकाे छ । थप समय माग गरेकाे छ । ३३ करोडको लागतमा बनेको साढे एक मेगावाट क्षमताको उक्त आयोजनाले जिल्लाको एक तिहाइ विद्युत् माग धान्ने बताइएको छ ।

जैमिनी नगरपालिका– १ र कुश्मीसेरा– ४ सर्कुवाको सीमामा रहेको ठेउलेखोलाको पानीलाई करिब एक हजार ९ सय मिटरको पेनस्टक पाइपमार्फत् वडा नं– ५ विनामारेस्थित विद्युत्गृहमा पु¥याइएको छ । आयोजनामा प्रभावित क्षेत्रका स्थानीयवासीको समेत १० प्रतिशत संस्थागत शेयर रहेको छ ।