नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०१८ को तयारी अन्तिम चरणमा

नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गर्न लागिएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मेला फागुन २४ देखि २८ गतेसम्म भृकुटीमण्डप काठमाडौंमा हुँदैछ । सरकार÷वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धनमा ललितपुर उद्योग वाणिज्य सङ्घ र नेपाल हस्तकला महासङ्घको सह—आयोजनामा मेला हुँदै छ । “सोकेशिङ नेपाल एण्ड दी ग्लोव”को मुख्य थिममा प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको यो सातौं संस्करण हो ।

मेलामा सबै स्टलहरु बुक भइसकेका छन् । कुल ३ सय भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ । मेलामा नेपाल सहित सार्क मुलुकहरू, चाइना, भारत, पाकिस्तान, बंगलादेश लगायतका देशहरूको सहभागिता रहनेछ । मेला स्थलमा स्टल निर्माण तथा सजावटको कार्य शुरु भैसकेको छ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादनहरू, एनटीआइएस प्रोडक्टहरू रहने छन् । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य समेत रहेको छ । मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा, औषधि, फलाम तथा स्टील, सवारी साधन आदिका छुट्टाछुट्टै स्टलहरू रहने छन् ।

मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रुपमा हेरिएको छ । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानी वारे छलफल समेत हुने छ । यस वर्षको मेलामा स्वदेशी र विदेशी गरि करिव २ लाख अवलोकनकर्ताहरूले अवलोकन गर्ने लक्ष्य राखिएको छ । मेला अवलोकन गर्न चीनको व्यावसायिक प्रतिनिधिमण्डल नेपाल आइसकेको छ ।