सहरी पूर्वाधार विकासका लागि प्रदेश नं ७ मा भीमदत्त नगरपालिकासहित कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा एसियाली विकास बैङ्कको ऋण सहयोगमा आयोजना सञ्चालन गरिएको हो ।
कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकामा तीन अर्ब रुपैयाँको क्षेत्रीय सहरी विकास आयोजना सञ्चालनमा आएको छ ।
सहरी पूर्वाधार विकासका लागि प्रदेश नं ७ मा भीमदत्त नगरपालिकासहित कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा एसियाली विकास बैङ्कको ऋण सहयोगमा आयोजना सञ्चालन गरिएको हो ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भीमदत्त नगरलाई व्यवस्थित र पूर्वाधार सम्पन्न सहर बनाउन आयोजना सञ्चालन गरिएको बताए । भीमदत्तलाई व्यवस्थित सहरसँगै प्रदेश नं ७ को उत्कृष्ट नमुना सहर बनाउन कार्यक्रम अगाडि बढाइएको उनको भनाइ छ ।
‘भीमदत्तलाई नमुना सहर बनाउन २० वर्षे योजना बनाएका छौँ,’ उनले भने । पाँच वर्षे आयोजनाले भीमदत्तको पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । फोहरमैला व्यवस्थापन केन्द्र, ढलसहितको नमुना सडक र फोहर पानी प्रशोधन केन्द्र निर्माण आयोजनाको प्रमुख प्राथमिकतामा छन् ।
आयोजनाअन्तर्गत निर्माण हुने दुई लेनको ३६ किलोमिटर कालोपत्र सडकको सर्भे गरिएको छ । फोहरमैला व्यवस्थापनका लागि जग्गाको खोजी गरिएको छ । भीमदत्त नगरपालिकाका इञ्जिनियर हिमालयसिंह ऐरले एक अर्ब ७० करोड रुपैयाँको लगानीमा ढलसहितको दुई लेनको नमुना सडक निर्माण हुने बताए । फोहरमैला र फोहर पानी प्रशोधन केन्द्र निर्माणका लागि आयोजनाअन्तर्गत कार्य अगाडि बढाइने योजना रहेको उनले बताए ।