चर्चामा अाउँदै सेलाउँदै गर्छ चाेभारमा प्रदर्शनी केन्द्र निर्माणकाे कुरा, याे वर्ष पनि छुटेन

राष्ट्रिय अर्थतन्त्रलाई उकास्दै नेपाली वस्तु तथा सेवालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि यहाँ पाँच दिवसीय सातौँ अन्तर्राष्ट्रिय व्यापार मेला सुरू भएको छ ।

नेपालसहित भारत, चीन, बंगलादेश र पाकिस्तानका औद्योगिक उत्पादनको प्रदर्शनी तथा बिक्रीको व्यवस्था मिलाइएको उक्त मेलाको स्थानीय भृकुटीमण्डपमा  समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।

सरकारको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको उक्त मेलामा ती देशका कृषि, हस्तकला, विद्युतीय सामग्री र अन्य औद्योगिक उत्पादनका ३०० वटा प्रदर्शनी कक्ष राखिएका छन् ।

मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राज्यको अबको कार्यसूची आर्थिक समृद्धि र विकास भएकाले राष्ट्रिय संकल्पका साथ सरकारको ध्यान त्यसैतर्फ आकृष्ट भएको बताए ।

प्रधानमन्त्रीले भने “विज्ञान र प्रविधिको सम्मिश्रणसँगै मुलुकभर उपलब्ध हरेक स्रोत र साधनको अधिकतम उपयोग गर्दै आर्थिक समृद्धि प्राप्तिको मार्गमा सबै नेपाली अग्रसर हुन अपरिहार्य भएको छ ।”

 

घरेलु, साना तथा मझौला उद्योगको प्रवद्र्धन, फलफूल खेती, मत्स्यपालन, दुग्ध उद्योग, दाना उत्पादन कारखाना स्थापना, कुखुरापालनजस्ता उद्यमबाट पनि अर्थतन्त्रलाई उजिल्याउन सकिने भएकाले आर्थिक समृद्धि र विकासको लक्ष्य नै वर्तमान सरकारको प्रमुख लक्ष्य र उद्देश्य भएको उनले स्पष्ट पारे ।

गरिबी घटाउने, औद्योगिकीकरणतर्फ राष्ट्रलाई उन्मुख गराउने वर्तमान सरकारको राष्ट्रिय संकल्प छ, छिमेकी राष्ट्र हामीलाई सघाउन तयार छन् भन्दै उनले लगानीको प्रतिफल दिने आकर्षक गन्तव्यका रुपमा नेपाल स्थापित भएको सन्देश अन्तर्राष्ट्रियजगत्मा प्रवाह गर्न मेला उपयोगी हुने विश्वास व्यक्त गरे ।

उनले नेपाललाई विकास र समृद्धि चाहिएको र राष्ट्र संघीय दिगो विकासका लक्ष्य प्राप्तिमा नेपालले व्यक्त गरेका प्रतिबद्धता पूरा गर्न पनि सामाजिक, आर्थिक र विकास, मानवाधिकार, प्रवद्र्धन, समतामूलक समाज निर्माण, सुशासन र भ्रष्टाचारप्रति शून्य सहनशीलता आफ्नो सरकारका लक्ष्य भएकाे बताए ।

प्रधानमन्त्रीले चीन, बंगलादेश, भारत र पाकिस्तानबाट प्रदर्शनीमा भाग लिन आएका उद्यमी, व्यापारी र प्रदर्शनकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरे ।

“वर्तमान सरकार देश र जनताप्रति उत्तरदायी छ, देशमा परिवर्तन र समृद्धि सुनिश्चित गर्न अबका पाँच वर्ष निरन्तर क्रियाशील हुनेछ, त्यसमा निजी क्षेत्रको साथ र सहयोग आवश्यक छ”, अबको विकासको कार्यसूची समृद्धि र आर्थिक उन्नयन भएको दोहो¥याउँदै प्रधानमन्त्री ओलीले भने ।

विकास–निर्माणका योजना, दीर्घकालीन राष्ट्रिय दृष्टिकोण, रोजगारीका अवसर वृद्धि, उत्पादकत्वको बढोत्तरी र नीति योजनाको कार्यान्वयनलाई सरकारले उच्च प्राथमिकता दिएको उनले बताए ।  विश्वबजारमा नेपालका निर्यातमूलक उद्योगको प्रवद्र्धनमा व्यापार मेला फलदायी हुने बताउँदै प्रधानमन्त्री ओलीले सन् २०२० मा दुबईमा हुने व्यापार मेलामा राष्ट्रको पहिचान र गरिमा हुने गरी मेलाको तयारी गर्न सम्बद्ध पक्षलाई निर्देशन दिए  ।

स्थानीय चोभारमा अन्तर्राष्ट्रियस्तरको व्यापार–मेला प्रदर्शनीस्थल निर्माणमा सरकार सकारात्मक रहेको जानकारी दिँदै उनले अर्थतन्त्रको उन्नयनका लागि भौतिक पूर्वाधार निर्माण पनि वर्तमान सरकारका उच्च प्राथमिकताका विषय भएका बताए ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले व्यापार विविधीकरण, उद्योगधन्दाको विकास, राष्ट्रिय आयवृद्धि, जनताको जीवनस्तर उत्थान सरकारका प्राथमिकता हुन् भन्दै सरकारले उद्यमी, व्यवसायी र समग्र अर्थतन्त्रको विकासमा मन्त्रालयले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताए ।

भ्रष्टारचार मुक्त समाज र व्यावसायिक वातावरण निर्माण एवम् पेश्कीका नाममा आर्थिक अनियमितता गर्नेलाई कठोर कारवाही गर्ने उनले चेतावनी दिए ।

महासंघका अध्यक्ष भवानी राणाको सभापतित्वमा भएको उक्त समारोहमा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालगायतले भेलाका विशेषता र त्यसको आयोजनाका विविध पक्षबारे मन्तव्य राखेका थिए ।