‘विद्युतीय वित्तीय प्रणालीले बैङ्किङ पहुँच नपुगेकाे ठाउँमा सहयाेग गर्छ’

कार्यक्रममा बोल्दै विभिन्न सरोकारवालाहरुले विद्युतीय वित्तीय प्रणालीले बैङ्किङ सेवाको पहुँच नपुगेको ठूलो जनसङ्ख्यालाई लाभ पुर्याउने उल्लेख गर्दै यो माध्यमबाट बचत खाता, कर्जा प्रवाह र बिमा सेवा प्रवाह गर्न सकिने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाजले संयुक्त राष्ट्रसङ्घीय पूँजी विकास कोष (यूएनसीडीएफ) र नेपाल राष्ट्र बैङ्कसँगको सहकार्यमा ‘विद्युतीय वित्तीय प्रणालीमा केन्द्रीय बैङ्क, वित्तीय संस्था तथा भुक्तानी सेवा सञ्चालकसेवा प्रदायकको भूमिका’ विषयमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बोल्दै विभिन्न सरोकारवालाहरुले विद्युतीय वित्तीय प्रणालीले बैङ्किङ सेवाको पहुँच नपुगेको ठूलो जनसङ्ख्यालाई लाभ पुर्याउने उल्लेख गर्दै यो माध्यमबाट बचत खाता, कर्जा प्रवाह र बिमा सेवा प्रवाह गर्न सकिने बताएका छन् । विद्युतीय वित्तीय सेवा प्रवाहको पर्यावरणभित्र रहने प्रत्येक पक्षको प्रभावकारी भूमिकाले मात्र मजबुत वित्तीय प्रणाली निर्माण गर्न सकिने बताइएको थियो ।

‘विद्युतीय वित्तीय प्रणालीलाई मजबुत बनाउन यसको पारिस्थिति पद्धतिभित्र बस्ने सबैले उत्तिकै भूमिका निर्वाह गर्नुपर्छ,’ यूएसीडीएफका मोबाइल मनी फर पोर कार्यक्रममा विज्ञ अहमद दर्मिसले भने, ‘विद्युतीय भुक्तानी प्रभावकारी भए यसले विद्युतीय वित्तीय सेवालाई मजबुत बनाउन उत्प्रेरकको भूमिका निर्वाह गर्छ ।’ मानिसहरुलाई यो सेवामा अभ्यस्त बनाउन सरल, प्रभावकारी, विश्वनीय सुविधा प्रदान गर्नुपर्ने र यसका नियामकले केही लचकता अपनाउनुपर्ने बताए ।

बैङ्क तथा वित्तीय संस्थाहरुको नियामक नेपाल राष्ट्र बैङ्कले पनि यो सेवा विस्तारलाई अनुकूल हुने वातावरण निर्माण गरी विद्युत्तीय वित्तीय सेवाको प्रयोगलाई विस्तार गर्दै लैजाने बताएको छ । केन्द्रीय बैङ्कका सहायक निर्देशक पदमराज रेग्मीले केन्द्रीय बैङ्कले विद्युतीय वित्तीय प्रणालीको विस्तारका लागि वित्तीय संस्था तथा भुक्तानी सेवा सञ्चालक सेवा प्रदायकहरुलाई नियमन गर्ने छुट्टै विभाग — भुक्तानी प्रणाली विभाग स्थापना गरेको भन्दै भुक्तानीसम्बन्धी काम गर्ने संस्थाहरुको इजाजतपत्र सम्बन्धी नीति तथा नियमनको व्यवस्था भैसकेको जानकारी दिए । ‘केन्द्रीय बैङ्कले अब खुद्रा भुक्तानीको कारोबार सीमा, निरीक्षण नियमावली तथा राष्ट्रिय भुक्तानी गेटवेका सम्बन्धमा काम गरिरहेको छ’, रेग्मीले भने ।

रेग्मीका अनुसार, राष्ट्र बैङ्कले दुई ओटा भुक्तानी सेवा प्रदायक, तीन ओटा भुक्तानी सेवा सञ्चालक र १३ मोबाइल वालेट सञ्चालकहरुले सेवा प्रदान गर्दै आएका छन् । त्यस्तै १०३ फर्महरुले मोबाइल वालेट सञ्चालनका लागि आवेदन दिएका छन् । दूरसञ्चारको विकाससँगै बैङ्किङ पहुँच नपुगेका ठाउँहरुमा विद्युतीय वित्तीय सेवा तीव्र रुपमा विस्तार हुने अपेक्षा यस क्षेत्रमा संलग्नहरु बताउँछन् । ‘अहिलेसम्म बैङ्किङ सेवाको पहुँच ६० प्रतिशत जनतामा पुगेको छ, जबकि १३५ प्रतिशतमा मोबाइल फोन सेवाको पहुँच छ,’ आईएमई डिजिटलका प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ बताउँछन् । ‘केन्द्रीय बैङ्कले अनुकूल नीति बनाएको खण्डमा विद्युतीय वित्तीय सेवाले बैङ्किङ पहुँच बाहिर रहेकाहरुलाई समेट्न सफल हुनेछ’, श्रेष्ठले भने ।

नेपाल बैङ्कर्स एसोसिएसनका उपाध्यक्ष तथा नेपाल एसबीआई बैङ्कका प्रबन्ध निर्देशक अनूकुल भट्नागरले बैङ्क तथा वित्तीय संस्थाहरुले पनि नयाँ प्रविधिको माध्यमबाट बैङ्किङ सेवाको पहुँच नपुगेका जनतामा विद्युतीय वित्तीय सेवा पुर्याउन लागिरहेको बताए । भट्नागरले भने, ‘बैङ्कहरुले आफ्नो हित र ग्राहकको फाइदाका लागि प्रविधिमा लगानी गरिरहेका छन् । विद्युतीय वित्तीय सेवा सरल, सुलभ र विश्वसनीय बनाउन वित्तीय संस्थाहरुको महत्त्वपूर्ण भूमिका हुन्छ ।’