तरलताको असर, निक्षेप खोज्न बैङ्क कर्मचारीलाई दबाब

बाणिज्य बैङ्कहरुले कामको मूल्याङ्कन हुने भन्दै जुनियरदेखि वरिष्ठ कर्मचारीलाई १० लाखदेखि १ करोड रुपैयाँसम्म निक्षेप सङ्कलनको टार्गेट दिन थालेका हुन् ।

बैङ्कमा लगानी योग्य पुँजीको अभाव बढ्दै गएपछि बैङ्कहरुले हरेक कर्मचारीलाई निक्षेप सङ्कलनका लागि दबाब दिन थालेका छन् ।

बाणिज्य बैङ्कहरुले कामको मूल्याङ्कन हुने भन्दै जुनियरदेखि वरिष्ठ कर्मचारीलाई १० लाखदेखि १ करोड रुपैयाँसम्म निक्षेप सङ्कलनको टार्गेट दिन थालेका हुन् । तरलता अभावले बैङ्कहरुलाई समस्या बढ्दै गएपछि प्रमोशनका बेला कार्यसम्पादन मूल्याङ्कन हुने भन्दै सबै स्टाफलाई निक्षेप सङ्कलनको टार्गेट दिइएको बैङ्क कर्मचारी बताउँछन् ।

जनता बैङ्कका वरिष्ठ सहायक एक कर्मचारीले बैङ्कले २० दिनभित्र ५० लाखको निक्षेप सङ्कलनका लागि टार्गेट दिएको बताए । ‘निक्षेप खोज्न बैङ्कका सबै कर्मचारीलाई सर्कुलर जारी भएको छ,’ उनले भने । प्रमोशनका बेला कार्यसम्पादन मूल्याङ्कन हुने भन्दै डिपोजिट ल्याउन भनिएको उनले बताए ।

सेन्चुरी बैङ्कको फ्रन्ट अफिसमा काम गर्ने अर्का कर्मचारीले पनि बैङ्कले २५ लाख निक्षेप खोज्न आग्रह गरेको बताइन् । हामीलाई दबाबभन्दा पनि आग्रह गरिएको हो, आफन्त वा चिनेजानेको कोही भए निक्षेप ल्याउन बैङ्कले भनेको उनले बताइन् । हिमालय बैङ्कका अफिसर पदका कर्मचारीले पनि बैङ्कले निक्षेपका लागि स्टाफलाई भनेको बताए । हामीलाई ३ साताअगाडि एक पटक निक्षेप ल्याउन सक्नेले खोज्नु भन्ने कुरा थियो तर अहिले त्यस्तो निर्देशन नभएको उनले बताए ।

हिमालय बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले हामीले डिपोजिट खोज्न स्टाफलाई दबाब नदिएको बताए । ‘हामीले ब्रान्चलाई भनेका छौं तर स्टाफलाई भनेका छैनौं,’ उनले भने । निक्षेप सङ्कलन गर्न स्टाफलाई भनेर नहुने उनले बताए । यो स्किम र बैङ्कसँगको सम्बन्धका कारणले बढ्ने हो, उनले भने ।

बैङ्कमा तरलता अभाव भएपछि कर्जामा कडाइ गरिरहेका छन् । तरलता अभाव बढ्दै गएपछि बैङ्कहरुले तत्काललाई ठूलो कर्जासमेत रोकेका छन् । बैङ्कहरुले निक्षेप सङ्कलन गर्नका लागि ब्याजदरसमेत बढाएका छन् । बैङ्कहरुले ८ प्रतिशतदेखि १२ प्रतिशतसम्म निक्षेपमा ब्याज दिने सार्वजनिक सूचनासमेत जारी गरेका छन् ।

केही बैङकले निक्षेप सङ्कलन गर्नका लागि विभिन्न सुविधासहित घरदैलो अभियानसमेत गरेका छन् । एनआईसी एसिया, कुमारी बैङ्क, प्रभु बैङ्कलगायतले निक्षेप सङकलन गर्न घरदैलोसमेत गरेका छन् ।