सडक बनेको आठ वर्षपछि दिक्तेल–खार्मी नियमित बस सेवा सुरु

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा खोटाङ यातायात व्यवसायी सङ्घले आइतबारबाट नियमित बस सेवा सुरु गरेको हो ।

खोटाङको दिक्तेलबाट खार्मीसम्म नियमित बस सेवा सुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा खोटाङ यातायात व्यवसायी सङ्घले आइतबारबाट नियमित बस सेवा सुरु गरेको हो ।

सडक मर्मत उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा खार्मीका स्थानीयवासीले बस र चालकलाई फूलमाला र अबिरले स्वागत गरेका थिए । दिक्तेलबाट १५ किलोमिटर टाढा पर्ने खार्मीका लागि नियमित बस सेवा जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले उद्घाटन गरेका हुन् ।

करिब आठ वर्षपहिले निर्माण गरिएको दिक्तेल–खार्मी–बास्पानी–बाक्सिला सडकको खार्मीसम्म मर्मत गरेपछि नियमित बस सेवा सुरु गरिएको मर्मत उपभोक्ता समितिका अध्यक्ष श्यामकुमार राईले जानकारी दिए । सडक मर्मतका लागि यस वर्ष नगरपालिकाले ४० लाख रुपैयाँ छुट्याएको थियो । करिब चार घण्टा पैदल यात्रा गरेर पुगिने खार्मीमा दिक्तेल–खार्मी नियमित बस सेवा सुरु भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

अब खार्मीसँगै पाथेका, बास्पानी, बाक्सिला, सप्तेश्वर, सुङ्देल, दिप्सुङ लगायतका स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । नगरपालिकाको १५ ओटा वडामध्ये खार्मीमा सबैभन्दा पछि यातायात सेवा सुरु भएको हो । रासस