विकास बजेट शिक्षकको तलबमा खर्च

बैतडीमा शिक्षकलाई तलब खुवाउन स्थानीय तहलाई हम्मेहम्मे परेको छ ।

बैतडीको दशरथचन्द नगरपालिकाले नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई विकास बजेटबाट तलब खुवाएको छ । बैतडीमा शिक्षकलाई तलब खुवाउन स्थानीय तहलाई हम्मेहम्मे परेको छ । शिक्षकका लागि आवश्यक रकम निकासा नभएपछि शिक्षकलाई विकास बजेटबाट तलब खुवाइएको दशरथचन्द नगरपालिकाका उप–प्रमुख मीना चन्दले बताइन् ।

अर्थ मन्त्रालयले कम रकम दिएपछि विकास बजेटबाट तलब खुवाउनु परेको उनको भनाइ छ । अर्थ मन्त्रालयले दश करोड रुपैयाँ मात्रै निकासा गरेकाले नगरपालिकाले चार करोड ३५ लाख ३ हजार १ सय ६० रुपैयाँ विकास बजेटबाट थपेर शिक्षकलाई तलबभत्ता वितरण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले बताए । दशरथचन्द नगरपालिकाअन्तर्गत ५६ ओटा सामुदायिक विद्यालय छन् ।

नगरपालिकाको विकाससहित दुई चौमासिकको तलबभत्ता वितरण गरिएको नगरपालिकाको शिक्षा शाखा प्रमुख गणेश जोशीले बताए । विकास बजेट शिक्षकको तलबमा खर्च भएकाले समयमा निकासा नभए विकास निर्माणका काममा बाधा पुग्ने देखिएको छ ।
रासस