यो किसानको सरकार हो : अर्थमन्त्री

साना किसानहरूकै तर्फबाट प्रधानमन्त्री हुनुपर्ने आवाज उठिरहेका बेला साना किसानबाटै अर्थमन्त्री भएको भनेर आफूलाई साना किसानको दर्जामा अर्थमन्त्री खतिवडाले उभ्याए ।

अर्थमन्त्री डा. युवराज खतिवडाले वर्तमान सरकार किसानहरूको सरकार भएकाले किसानको पक्षमा निर्णय हुने बताएका छन् । साना किसानका समस्यालाई पढेर होइन, भोगेर अनुभूत गरेको भन्दै उनले किसानको आवश्यकता हेरेर लगानी बढाउन आफ्नै संरचना बनाउने दाबी गरे ।

साना किसानहरूकै तर्फबाट प्रधानमन्त्री हुनुपर्ने आवाज उठिरहेका बेला साना किसानबाटै अर्थमन्त्री भएको भनेर आफूलाई साना किसानको दर्जामा अर्थमन्त्री खतिवडाले उभ्याए ।

‘राजनीतिक स्थायित्व र सरकारको काम गर्ने वातावरणका लागि आजको दिन अत्यत्नै खुसीको दिन हो,’ साना किसान विकास बैङ्कको १७औं वार्षिकोत्सब कार्यक्रममा आइतबार उनले भने, ‘स्थायित्व आफंैमा पर्याप्त आधार हैन । तर, न्यूनतम आधार हो ।’ सरकारले दुईतिहाइ विश्वासको मत प्राप्त गरेको सन्दर्भलाई जोड्दै उनले त्यसकै आधारमा अबको विकासको काम अघि बढ्ने दाबी गरे । स्वाभाविक रूपमा किसानहरूले उत्पादन गरेपछि त्यसका लागि बजारको आवश्यकता पर्नेमा जोड दिँदै उनले किसान र बजार मूल्यबीचको तादात्म्यता मिलाउन सरकार लाग्ने बताए ।

उनले सहकारी संस्थाहरूले कम्पनी खोलेर आफ्ना उत्पादन बिक्री गर्न नपाउँदा समस्या भएको भन्दै कम्पनी खोल्न पाउने कानुनी ज्यवस्थातर्फ सरकारले सकारात्मक पहल गर्ने बताए । अहिलेकै अवस्थामा बढी वस्तु उत्पादन गर्ने सहकारीले विदेशमा वस्तु निर्यात गर्न सहकारीलाई प्रतीतपत्र खोल्न सक्ने सुविधा नभएको भन्दै अर्थमन्त्री खतिवडाले त्यसलाई कम्पनीमार्फत गएर प्रतीतपत्र खोल्ने र त्यसमार्फत सहकारीले आफ्ना उत्पादन बिक्री गर्ने योजनामा सरकारले सघाउने दाबी गरे ।

निर्यात गर्न सक्ने सहकारीलाई अगाडि बढाउनैपर्ने भन्दै उनले सहकारी आन्दोलनमा सहभागी नभएका राम्रा किसान पनि छुट्न नहुने बताए । सहकारी ऐनलाई पुनः परिभाषित गरेर निर्यातको काम गर्न सहजीकरण गर्ने उनको भनाइ छ । आयातनिर्यातका काममा खोलिने प्रतीतपत्रका लागि कम्पनी आवश्यक पर्ने हुन्छ भने वस्तु तथा सेवा आयात तथा निर्यात भएबापत एउटा मुलुकबाट अर्को मुलुकमा व्यावसायीलाई भुक्तानी गरिदिन सम्बन्धित देशका वित्तीय संस्थाले प्रतीतपत्र खोलिदिने गर्छन् ।

कार्यक्रममा पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले साना किसान सहकारीबाट व्यवसाय विस्तार गरिरहेकाहरूलाई ऋणको सीमाले समस्या पार्न थालेकोतर्फ सबै पक्ष गम्भीर हुनुपर्ने बताए ।

साना किसान लघुवित्त विकास बैङ्कले सहकारीहरूमार्फत थोकमा कर्जा लगानी गर्दै आएको छ । हाल बैङ्कले १५ अर्ब ५९ करोड रूपैयाँबराबरको ऋण दिएको छ । भाका नाघेको ऋणको हिस्सा एक प्रतिशतभन्दा कम छ । चालू आर्थिक वर्षको ६ महिनामा साना किसान विकास बैङ्कले १७ करोड १६ लाख रूपैयाँ खुद नाफा गरेको छ । ६२ करोड ८८ लाख २८ हजार चुक्ता पुँजी रहेको साना किसानमा कृषि विकास बैङ्क, नेपाल बैङ्क, नबिल बैङ्क, साना किसान कृषि सहकारी र सर्वसाधारणको सेयर लगानी छ । देशका ६८ जिल्लामा ६ सय ६३ सहकारीमार्फत ७ लाखभन्दा बढी परिवारमा बैङ्कको सेवा पुगेको छ । महिलाहरूको सहभागिता ७७ प्रतिशत छ ।