सबै मुख्यमन्त्रीहरुले समृद्धिका लागि लगानीमैत्री वातावरण निर्माण गरी निजीक्षेत्रलाई आकर्षित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
मुलुकका सात प्रदेशका मुख्यमन्त्रीहरुले एकै स्थानबाट अब विकासका लागि काम गर्ने बताएका छन् । आफ्नो क्षेत्र बनाउनका लागि प्रमुख एजेन्डा आर्थिक विकास र समृद्धि भएको बताउँदै विकासको विकल्प नभएको बताएका हुन् ।
नेपाल चेम्बर अफ कमर्सले मुख्यमन्त्रीहरुको सम्मानमा बुधबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्रीहरुले आफूहरु विकासको रोडम्यापमा हिँड्न थालिसकेको बताए । चेम्बरले ‘सङ्घीय संरचनामा आर्थिक समृद्धिका अवसर’ भन्ने नारामा गरिएको कार्यक्रममा मुख्यमन्त्रीहरुले निजीक्षेत्रसँंगको सहकार्यबिना मुलुकको आर्थिक विकास सम्भव नहुने बताए ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँंगै मुलुकले समृद्धिको यात्रा तय गरेको बताए । ‘अब हामी विकासका लागि अघि बढ्ने हो । त्यसका लागि प्रदेशमा भएको सम्भावनाको सूची बनाएर जाँदै छौं,’ उनले भने ।
प्रदेश २ का मुख्यमन्त्री मोहमद लालबाबु राउतले मुलुकको आर्थिक समृद्धिका लागि निजीक्षेत्रको लगानी अपरिहार्य रहेको बताउँदै प्रदेश सरकारसँग निजीक्षेत्रको सहकार्य अपरिरहार्य हुनुपर्ने बताए ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अब कुरा गर्ने होइन, काम गर्ने समय आएको धारणा राखे । हामीसँग अब कुरा गरेर बस्ने समय नभएकाले काम नै गर्नुपर्नेमा उनको जोड छ । ‘प्रदेशबीचको स्वस्थ प्रतिस्पर्धाले विकासको नयाँ आयाम थपिन्छ,’ उनले भने ।
प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशमा विकासको काम सुरु भएको बताए । ‘हामीले अरुभन्दा उत्कृष्ट प्रदेश बनाउन लागिरहेका छौं, प्रदेश ४ मा निजीक्षेत्रलाई स्वागत गर्न आतुर पनि छौं,’ उनले भने ।
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकास र समृद्धिको आकाङ्क्षा बोकेर एकात्मक राज्य व्यवस्थाको ठाउँंमा सङ्घीय राज्यको व्यवस्था भएकाले अबको एजेन्डा आर्थिक समृद्धि मात्रै भएकोमा जोड दिए ।
त्यसैगरी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकासमा पछि परेको कर्णाली प्रदेशको विकास आफ्नो मुख्य एजेन्डा रहेको बताउँंदै पिछडिएको प्रदेश भएकाले अवसरै अवसर देखेर लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका थिए ।
त्यस्तै प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रसँंग सहकार्य गर्न आफूहरु सबै जना तत्पर रहेको बताए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले जहाँ अधिकतम सुविधा छ, त्यही निजीक्षेत्रले लगानी गर्ने र लगानीले नै स्थानीय रोजगारी सिर्जना गरी राजस्व पनि बुझाउने भएकाले यसतर्फ मुख्यमन्त्रीहरुले ध्यान दिनुपर्नेमा जोड दिए ।