फुटपाथमा पसल राख्नुभएको छ ? फन्दामा पर्नुहोला

व्यापारीले काठमाडौंको सुन्धारा, कोटेश्वर, नयाँ बानेश्वर, गौशाला, जमल, आरएनएसी, न्यूरोड, नयाँ बसपार्कलगायतका सडकपेटीमाथि कब्जा जमाएर व्यवसाय गर्दा पैदलयात्रुलाई यात्रा गर्न समस्या बनेको थियो ।

काठमाडौंको सडकपेटीमा यात्रा गर्नै नमिल्ने गरी पसल राख्ने व्यापारीमाथि सरकारले तत्काल कडा कारबाही गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले अबदेखि सडकपेटीमा पसल राखेर व्यापार गर्नेलाई तत्काल कडा कारबाही गर्ने निर्णय गरेको छ ।

पैदलयात्रुलाई हिड्ने ठाउँ नै नराखी पसल थाप्दा ट्राफिक जामको समस्या मात्रै नभई पैदलयात्रु पनि असुरक्षित हुने भएकाले सरकारले यस्तो कदम चालेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

काठमाडौंको सुन्धारा, कोटेश्वर, नयाँ बानेश्वर, गौशाला, जमल, आरएनएसी, न्यूरोड, नयाँ बसपार्कलगायतका सडकपेटीमाथि कब्जा जमाएर व्यवसाय गर्दा पैदलयात्रुलाई यात्रा गर्न समस्या बनेको थियो ।

काठमाडौं महानगरले पटक–पटक सडकपेटी प्रयोग गरेर व्यवसाय गर्नेहरुलाई हटाउन पहल गरे पनि सम्भव भएको थिएन । तर, अहिले मन्त्रीपरिषद्को बैठकले महानगर र ट्राफिक प्रहरी मिलेर सडकपेटी खालि गर्ने निर्णय गरेको छ ।

पैदलयात्रीको यात्रा सुरक्षित र सहजताका लागि सडक छेउछाउमा राखिएका फुटपाथ पसल हटाउन थालेको हो । फुटपाथ पसल नराख्न र भएका फुटपाथ हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको निर्णयअनुसार यस्तो व्यवस्था लागू गरेको हो ।

फुटपाथ पसल राख्दा पैदलयात्रीलाई यात्रा गर्न गाहे भएको, भीडभाड हुने, दुर्घटनाको जोखिम बढ्ने र सवारी आवागमनमा समेत बाधा पुग्ने गरेको छ । महानगर, औद्योगिक क्षेत्र, बजार क्षेत्रभित्रका सडक छेउछाउमा दिनानुदिन फुटपाथ बढेसँगै सुन्दर सहर र सहज आवातजावतका लागि यस्तो व्यवस्था लागू गरेको हो ।

मन्त्रिपरिषद्को उक्त निर्णयअनुसार महानगर कार्यालय र ट्राफिक प्रहरी महशाखालाई कार्यान्वयनको जिम्मा दिइएको छ । महानगरी प्रहरी कार्यालय तथा ट्राफिक प्रहरी महाशाखाले सडक छेउछाउमा भएका फुटपाथ खाली गर्न आग्रह गरेको छ ।

गृहमन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशारण मन्त्रालयले निर्णय कार्यान्वयन गराउन सहयोगी भूमिका खेल्नेछन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले अनुगमन तथा निरीक्षण गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाको सर्वेक्षणअनुसार अहिले काठमाडौंमा साढे ५ हजार फुटपाथ पसल छन् । पुरानो बसपार्कसहित चाबहिल, गोङ्गबु, कोटेश्वर, गौशाला, वनस्थली, बानेश्वर, सुकेधारा, कालीमाटी, जडिबुटी, बालकुमारी, बालाजु, बागबजार, कलङ्की रत्नपार्क लगायतका क्षेत्रमा फुटपाथ पसल दिनानुदिन बढिरहेका छन् ।

काठमाडौं उपत्यका भित्रका सडकमा बढ्दो खुला पसल सञ्चालनले पैदलयात्रीलाई मात्र कठिनाइ भएको होइन, सहरमा फोहोर, प्रदूषण बढेको जनगुनासो बढ्दै गएको छ ।

गत असारमा काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले दुई महिनाभित्र फुटपाथ पसल हटाई सडक खाली गर्न निर्देशन दिएका थिए । त्यसका लागि महानगरपालिकाबाट फुटपाथ हटाउन १ सय प्रहरीलाई तालिम दिएको थियो ।