एसियाली विकास बैङ्कको सहयोगमा ८५ करोडको लागतमा सम्पन्न हुने खानेपानी आयोजनाका लागि स्थानीय जनताबाट कुल लागतको पाँच प्रतिशत रकम जुटाउनुपर्ने भएकाले सो रकम सङ्कलन गरिएको हो ।
सहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन गर्न इलाम बजारका स्थानीयवासीले दुई करोड रुपैयाँ सङ्कलन गरेको छ ।
एसियाली विकास बैङ्कको सहयोगमा ८५ करोडको लागतमा सम्पन्न हुने खानेपानी आयोजनाका लागि स्थानीय जनताबाट कुल लागतको पाँच प्रतिशत रकम जुटाउनुपर्ने भएकाले सो रकम सङ्कलन गरिएको हो ।
खानेपानी सञ्चालन गर्न उपभोक्ता समिति नै गठन गरेर रकम उठाउन थालिएको छ । प्रत्येक मिटरबाट १५ हजार रुपैयाँका दरले रकम सङ्कलन गरिएको उपभोक्ता समिति अध्यक्ष केदार थापाले जानकारी दिए ।
८५ करोड रुपैयाँको पाँच प्रतिशत स्थानीयवासीबाट साथै नगरपालिकाको नगर विकास कोषमार्फत २५ प्रतिशत ऋण सहयोग जुटाएर खानेपानी आयोजना सम्पन्न गर्नुपर्ने प्रावधान छ ।
उपभोक्ता समितिले चार करोड रुपैयाँभन्दा बढी रकम सङ्कलन गर्नुपर्ने हुन्छ । बुधबारसम्ममा दुई करोड रकम सङ्कलन भएको उनले जानकारी दिए । चाँडो रकम सङ्कलन गरेर खानेपानी ल्याउन नगरवासीले सहयोग गर्नुपर्ने अध्यक्ष थापाले बताए ।
योजना सम्झौता भएको दुई वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको उपभोक्ता समितिका सचिव तिलक ठकुरीले बताए ।
खानेपानी सञ्चालनका लागि सन्दकपुर गाउँपालिकामा रहेका तीन ओटा मुहानबाट पानी आपूर्ति गरिने छ ।
हाल पानी अभावका कारण इलाम बजारका बासिन्दा नुहाउन र कपडा धुन धारा वा खोलामा जानुपर्ने बाध्यता छ । यो बाध्यताबाट मुक्त हुनसमेत उपभोक्ता सचेत हुनुपर्ने सचिव ठकुरीको भनाइ छ । रासस