विद्युत् हुकिङ गर्नेबाट १८ लाख जरिवाना असुल

विगत आठ महिनादेखि सञ्चालन गरेको विद्युत् चोरी नियन्त्रण अभियानअन्तर्गत प्राधिकरणले जरिवाना स्वरुप उक्त रकम असुल गरेको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताए ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चुहावट नियन्त्रण अभियानबाट १८ लाख रुपैयाँभन्दा बढी असुली गरेको छ ।

विगत आठ महिनादेखि सञ्चालन गरेको विद्युत् चोरी नियन्त्रण अभियानअन्तर्गत प्राधिकरणले जरिवाना स्वरुप उक्त रकम असुल  गरेको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताए । विद्युत् पोलमा हुकिङ गरेको र मिटरमा चोरी गरेकोबाट १८ लाख १२ हजार २ सय ८१ रुपैयाँ जरिवाना असुल गरेको उनले बताए ।

विद्युत् चोरी गर्ने ३५४ जनामाथि कारवाही गरेर प्रत्येक व्यक्तिबाट पाँच हजार रुपैयाँका दरले जरिवाना रकम असुलउपर गरेको प्रमुख साहले जानकारी दिए ।

सो अभियानअन्तर्गत हालसम्म जिल्लाका विभिन्न गाउँ, र सहरमा सिधै हुकिङ गरेर प्रयोग गरेका तीन हजारभन्दा बढी व्यक्तिको घरमा हुकिङ हटाइएको प्राधिकरणले जनाएको छ ।