बेतन कर्णाली जलविद्युत आयोजना निर्माणका लागि कर्मचारी सञ्चय कोषले सञ्चकर्ताको मुनाफाबाट ३ अर्ब रुपैयाँ शेयर लगानी गर्ने भएको छ । ६ सय ८८ मेगावाट क्षमताको उक्त आयोजना निर्माण गर्नका लागि आवश्यक वित्तीय स्रोत व्यवस्थापन स्वरुप सञ्चयकर्ताको मुनाफा बाँडफाँड कोषबाट उक्त रकम लगानी गर्न लागेको हो ।
गत आर्थिक बर्ष २०७३÷०७४ मा सञ्चयकर्ताकर्ताको मुनाफा बाँडफाँड कोषमा जम्मा गरिएको रकमबाट सञ्चय कोष मौज्दात ०.६५ प्रतिशत मुनाफा रकम लगानी कोषमा जम्मा गरिएको कोषका कार्यबाहक प्रशासक दिपक रौनियारले बताए । उनले गत बर्ष १ अर्ब ५८ करोड खुद मुनाफा कमाएको कोषले उक्त नाफा रकमबाट ८१ प्रतिशत अर्थात १ अर्ब २९ करोड लगानी गरेको जानकारी दिए । उनका अनुसार सञ्चयकर्ता लगानी कोषमा २ अर्ब ८२ करोड जम्मा भएको र सो रकममध्येबाट ८ करोड लगानी भइसकेको बताए । सञ्चकर्ता कल्याणकारी कोषमा २० करोड ८३ लाखमध्ये ११ प्रतिशत अर्थात १५ लाख ९९ हजार खुद मुनाफा बाँडफाँड गरिएको हो ।
आयोजना कम्पनी र नेपाल विद्युत प्राधिकरणको २÷२ अर्ब, सञ्चयकोषबाट ३ अर्ब र सर्वसाधारणबाट ५ अर्ब रुपैयाँको पूँजी व्यवस्थापन हुने भएकाले आयोजना निर्माणमा कुनै समस्या नहुने प्रशासक रौनियारले बताए । जलविद्युत कम्पनीले वित्तीय व्यवस्थापनका लागि अनुरोध गरेको उनले बताए ।
यो स्वदेशी लगानीमा बन्न लागेको अपर तामाकोशी पछिको सवैभन्दा ठूलो क्षमताको आयोजना हो । आयोजनाको डिपिआरको प्रक्रिया सुरु भएको छ । कोषमा आवद्ध सञ्चयकर्ताहरुको कारोबार सुचना मोवाइल फोनको एसएमएस प्रणालीको माध्यमबाट गराउने उद्धेश्यले कोषले एसएमएस एर्लट सिस्टम लागू गरेको छ । उक्त प्रणाली आगामी आर्थिक बर्षको अन्त्यसम्ममा सुरु गर्ने कोषले जनाएको छ ।
गत बर्ष कर्मचारी कोषको कुल पुँजी २२४ अर्ब ७० करोड रुपैयाँ रहेको थियो । हाल कोषमा ५ लाख ६० हजार सञ्चयकर्ता रहेका छन ।