एक अर्ब १५ करोडको सेयर सूचीकृत

यो साता नेप्सेमा सेयर सूचीकरण भएका १० कम्पनीमध्ये ९ कम्पनीको बोनस सेयर छ । तीमध्ये अधिकांश बैङ्क तथा वित्तीय संस्था छन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक सातामा एक अर्ब १५ करोड रुपैयाँबराबरको सेयर सूचीकृत भएको छ । यो सातामा १० कम्पनीको हकप्रद र बोनस सेयर कारोबारका लागि नेप्सेमा सूचीकरण भएको हो ।

यो साता नेप्सेमा सूचीकृत भएका सेयर अधिकांश बोनस सेयर छन् । कम्पनीले प्रतिफलबाट सेयरधनीलाइ लाभांशस्वरूप वितरण गरेको सेयर कारोबारका लागि बोनस नेप्सेमा सूचीकरण भएका हुन् । नेप्सेमा माउन्ट मकालु विकास बैङ्कको मात्र ३ करोड ४५ लाख ८० हजार रुपैयाँबराबरको ३ लाख ४५ हजार ८ सय कित्ता हकप्रद सेयर सूचीकरण भएको छ । बैङ्कले चुक्ता पुँजी वृद्धिका लागि कायम रहेका सेयरधनीलाई जारी सेयरको सेयर कारोबारका लागि नेप्सेमा सूचीकरण गरेको हो ।

यो साता नेप्सेमा सेयर सूचीकरण भएका १० कम्पनीमध्ये ९ कम्पनीको बोनस सेयर छ । तीमध्ये अधिकांश बैङ्क तथा वित्तीय संस्था छन् । नेप्सेमा बोनस सेयर सूचीकरण गर्नेमा ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैङ्क, वरुण हाइड्रोपावर कम्पनी, गुहेश्वरी मर्चेन्ट बैङ्किङ एन्ड फाइनान्स, स्वरोजगार लघुवित्त वित्तीय संस्था, चिलिमे जलविद्युत् कम्पनी, कैलाश विकास बैङ्क र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी छन् । सोमध्ये सबैभन्दा धेरै कैलाश विकास बैङ्कको २२ करोड ९१ लाख ४८ हजार ८ सय रुपैयाँबराबरको २२ लाख ९१ लाख ४ सय ८८ कित्ता सेयर सूचीकरण भएको हो ।

नेप्से परिसूचक २७ अङ्कले घट्यो
नेप्से परिसूचक यो साताका पछिल्ला दिनमा सकारात्मक देखिए पनि सुरुका दिनको उच्च अङ्कको गिरावटले समग्र साताभर बजार सूचक २६.७७ अङ्कले घटेको छ ।

यो साताभर नेप्सेमा कारोबार भएका अधिकांश समूहगत परिसूचक घटेपछि त्यसको असर समग्र बजार सूचकमा परेको हो । यो साता नेप्सेसँगै कारोबार रकममा पनि उच्च गिरावट आएको छ । यो साताको पहिलो दिन आइतबार कारोबार सुरु हुँदा १३१५.१३ अङ्कमा रहेको नेप्से परिसूचक २६.७७ अङ्कले घटेर १२८८.३६ अङ्कमा झरेको छ ।

यो साता नेप्सेमा १७४ कम्पनीको १७ हजार २ सय ८७ कारोबारबाट एक अर्ब २९ करोड ३६ लाख ९८ हजार रुपैयाँबराबरका ३३ लाख ३९ हजार एक सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । यो कारोबार रकम गत साताको तुलनामा २७.९२ प्रतिशतले थोरै हो । गतसाता नेप्सेमा १ सय ७१ कम्पनीहरुको २२ हजार ४ सय ३७ कारोबारबाट एक अर्ब ७९ करोड ४७ लाख ९८ हजार रुपैयाँ बराबरका ४७ लाख ९३ हजार एक सय २० कित्ता सेयरहरु खरिद बिक्री भएको थियो । यो साता नेप्सेमा पाँच दिन कारोबार भएको छ । यो साता पनि संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।