विराटनगर महानगरपालिकाले विभिन्न सडक कालोपत्र गर्ने

महानगरपालिकाले सघन सहरी विकास कार्यक्रमअन्तर्गत ६२ करोड रुपैयाँको लागतमा नालासहित १४ ओटा सडकको (१३ दशमलव पाँच किलोमिटर) निर्माण कार्य सुरु गरी त्यसको ७० प्रतिशत काम पूरा भएको जनाएको छ ।

विराटनगर महानगरपालिकाले नगर क्षेत्रभित्र सडक सञ्जाल तथा नाला निर्माण कार्यलाई तीव्रता दिएको छ ।

महानगरपालिकाले सघन सहरी विकास कार्यक्रमअन्तर्गत ६२ करोड रुपैयाँको लागतमा नालासहित १४ ओटा सडकको (१३ दशमलव पाँच किलोमिटर) निर्माण कार्य सुरु गरी त्यसको ७० प्रतिशत काम पूरा भएको जनाएको छ ।

आउँदो २०७५ असार मसान्तसम्ममा सम्पूर्ण सडक तथा सडकको दुवैतर्फ नाला निर्माण कार्य पूरा हुने महानगरपालिकाका वरिष्ठ इन्जिनियर भरत न्यौपानेले बताए ।

यसैगरी साना तथा मझौला सहर वातावरणीय विकास परियोजनाअन्तर्गत दुई अर्ब ९५ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको नाला तथा सडकको कार्यले ९७ प्रतिशत प्रगति हासिल गरेको छ ।

यस कार्यअन्तर्गत ढल, नाला, फोहर, पानी प्रशोधन, सडक ग्राभेल, पुष्पलाल चोकदेखि पानीट्याङ्कीसम्मको कालोपत्रसहितको सडक निर्माण, धर्मबाँध र शाही मार्गमा पानीट्याङ्की निर्माण कार्य भइरहेको कालिका कन्स्ट्रक्सनका इन्जिनियर महेश सुवेदीले बताए ।

यस्तै दुई अर्ब ६२ करोड रुपैयाँको लागतमा क्षेत्रीय विकास परियोजनाअन्तर्गत सुरु भएको नाला तथा सडक निर्माण कार्यले १५ प्रतिशत प्रगति हासिल भएको भएको इन्जिनियर न्यौपानेले जानकारी दिए ।

आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ कार्य भइरहेको उक्त परियोजनाअन्तर्गत ७१ किलोमिटर सडकमा कालोपत्र र त्यसको दुवैतर्फ नाला निर्माण गरिने छ ।

यसैबीच विराटनगरमा भइरहेको कामको महानगरपालिकाका प्रमुख भीम पराजुलीसहितको टोलीले बिहीबार अनुगमन तथा निरीक्षण गरेको छ ।

प्रमुख पराजुुलीसहित उपप्रमुख इन्दिरा कार्की, महानगरपालिकाका कार्यकारी अधिकृत प्रदीप निरौला, इन्जिनियर भरत न्यौपाने तथा सञ्चारकर्मीसहितको टोलीले विराटनगरमा भइरहेको दुई दर्जनभन्दा बढी योजनाको अनुगमन गरी त्यसको प्रगति र अवस्थाका बारेमा जानकारी लिएको छ ।

नालाको पानी प्रशोधन गरी पुनः खोलामा फाल्ने र मल बिक्री गर्ने योजनाका साथ कार्य अगाडि बढाएको महानगरपालिकाले जनाएको छ ।