क्यानको प्राथमिकतामा क्षेत्रीय हब विमानस्थल

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले विमान थपिरहेको सन्दर्भमा विमानस्थलको चाप व्यवस्थापन गर्न क्षेत्रीय हब विमानस्थल क्यानको उच्च प्राथमिकतामा परेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा बढ्दो चाप कम गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले क्षेत्रीय हब विमानस्थल विस्तारमा तीव्रता दिएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले विमान थपिरहेको सन्दर्भमा विमानस्थलको चाप व्यवस्थापन गर्न क्षेत्रीय हब विमानस्थल क्यानको उच्च प्राथमिकतामा परेको हो । नागरिक उड्डयनलाई सहज र प्रभावकारी तुल्याउन क्यानले टीआईएको क्षमता विस्तार तथा भैरहवा र पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा विशेष महत्त्वका साथ काम गर्दै आएको छ ।

विराटनगर, जनकपुर र नेपालगञ्जलाई पनि क्षेत्रीय हबका रुपमा अघि बढाइने क्यानको योजना छ । अहिले पनि यी विमानस्थललाई टीआईएको वैकल्पिक विमानस्थलका रुपमा लिइन्छ ।

क्यानका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले मुख्य प्राथमिकतामा रहेको क्षेत्रीय हब विमानस्थल विस्तारको काम शीघ्र रुपमा अघि बढेको बताए । उनका अनुसार अहिले विराटनगरको धावनमार्ग विस्तार भई टर्मिनल भवनको निर्माण कार्य भइरहेको छ भने नेपालगञ्ज विमानस्थलको पनि स्तरोन्नति हँुदैछ ।

अहिले नयाँ ठूला विमान थपिरहेको अवस्थामा विराटनगर विमानस्थल पनि साँघुरो भएको छ । पहिला साना विमानलाई लक्ष्य गरेर ‘पार्किङ वे’ बनाइएको थियो । आन्तरिक उडानका (एटीआर ७२) जस्ता ठूला विमानलाई पार्किङ गर्न धावनमार्ग बढाउने काम भइरहेको पनि प्रवक्ता श्रेष्ठले बताए । टीआईएको आन्तरिकतर्फ अहिले करिब ३० ओटा विमान पार्किङ गर्न सकिन्छ । अन्तर्राष्ट्रियमा भने नौ ओटा विमान मात्रै पार्किङ गर्न मिल्छ ।

विमानस्थलबाट हाल दुई नेपालीसहित ३० ओटा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । आन्तरिकतर्फ हेलिकोप्टरसहित १८ ओटा वायु सेवा कम्पनीले उडान गर्दै आएका छन् । सेवाग्राहीको आकर्षण र व्यावसायिक सम्भावना देखेरै व्यवसायीले पनि यस क्षेत्रमा ठूलो लगानी गरिरहेका छन् । हाल सञ्चालनमा रहेका विमानस्थललाई उडान व्यवस्थापन गर्न निकै हम्मे परेको छ । हवाई नीति २०६३ अनुसार क्षेत्रीय सन्तुलन तथा हवाई यातायात विकासमा दूरगामी महत्त्व राख्ने विमानस्थलको निर्माण एवम् विकासका लागि (कुल निर्माण लागतको ७० प्रतिशत नेपाल सरकार (वैदेशिक सहयोगसमेत), १५ प्रतिशत प्राधिकरण र बाँकी १५ प्रतिशत स्थानीय निकाय तथा निजी क्षेत्रको सहभागिता जुटाइने उल्लेछ छ ।

क्षेत्रीय हब विमानस्थल बनेको खण्डामा टीआईएमा भइरहेको चाप व्यवस्थापन गर्न सहज हुने विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । क्षेत्रीय हब विमानस्थलले उडान व्यस्थापन मात्र नभई त्यस क्षेत्रको विकासमा टेवा पुग्ने उनको भनाइ थियो ।

प्रवक्ता ठाकुरले पर्यटक बढाउन नयाँ जहाज जरुरी भए पनि विमानस्थलको क्षमताका कारण थप जहाज धान्न गाह्रो पर्ने र अब थपिने जहाज अन्य स्थानमा पार्किङ गर्नुपर्ने अवस्था आएको बताए । भौगोलिक अनुकूलताका कारण महँगो भए पनि नेपालको हवाई यातायात निकै उपयोगी मानिन्छ । विभिन्न गन्तव्यमा पुग्न सुलभ र छिटो हुने भएकाले पनि हवाई यातायात अधिकांशको रोजाइमा पर्ने गरेको छ ।

मुलुकभित्र सुविधासम्पन्न विमानस्थलको अभाव भइरहेका बेला निजी वायु सेवा प्रदायक कम्पनी भने नयाँ विमान भित्र्याउने होडबाजीमा छन् । अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान सङ्ख्या पनि वृद्धि भएको छ ।

नेपाल वायुयान सञ्चालक सङ्घका अध्यक्ष पवित्रकुमार कार्कीले एकपछि अर्को गर्दै वायु सेवा प्रदायक कम्पनीले जहाज थप्दै गएको अवस्थामा विमानस्थल साँघुरो भएको र व्यवसाय प्रवद्र्धन गर्न कठिनाई भइरहेको गुनासो गरे । क्यानले नयाँ विमान ल्याउने वायु सेवा प्रदायकलाई काठमाडौँ उपत्यकाबाहिर पार्किङ गर्न निर्देशन दिइसकेको छ । नेपालगञ्ज, भैरहवा, विराटनगर र पोखरामा जहाज पार्किङ गर्न प्राधिकरणले निजी सेवा प्रदायकलाई भनेको छ ।

क्यानका अनुसार हाल ४९ ओटा विमानस्थल छन् जसमध्ये ३२ ओटा विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन भइरहेको छ । त्यस्तै निर्माणाधीन सातओटा विमानस्थलमा कालीकोट, ओखलढुङ्गाको खिजी चण्डेश्वरी, गुल्मीको सिमीचौर, इलामको सुकिलुम्बा, अक्षामको कमलबजार, अर्घाखाँची र लमजुङका छन् । सञ्चालनमा रहेकामध्ये २९ ओटा विमानस्थल कालोपत्रे छन् । लामीडाँडा, थामखर्क, राजविराज, डोटी, दीपायल, बैतडी र साँफेबगर विमानस्थल कालोपत्र गर्ने क्रम जारी छ । सीबी अधिकारी रासस