सिँचाइ आयोजनाको काम सुस्त

कुनै स्थानीयवासीको अवरोधले निर्माण कार्य रोकिएका छन् भने कुनै ढिला गरी सुरु भएका कारण सिँचाइ आयोजनाको काम सुस्त गतिमा अगाडि बढेका हुन् ।

कपिलवस्तुमा सञ्चालित मझौला सिँचाइ आयोजनाअन्तर्गत एक वर्षअघिदेखि सुरु भएका अधिकांश सिँचाइ आयोजनाको काम कछुवा गतिमा चलेको छ । सिँचाइ विकास डिभिजन कार्यालयका अनुसार कपिलवस्तु जिल्लामा कुल दसओटा सिँचाइ आयोजना सञ्चालनमा छन् ।

कुनै स्थानीयवासीको अवरोधले निर्माण कार्य रोकिएका छन् भने कुनै ढिला गरी सुरु भएका कारण सिँचाइ आयोजनाको काम सुस्त गतिमा अगाडि बढेका हुन् । अधिकांश योजना गत वर्ष टेन्डर भई यस वर्षदेखि सुरु भएका हुन् । तत्कालीन फुलिका गाविसमा रहेको नग्दरिया सिँचाइ आयोजना अहिलेसम्म सुरु नै हुन सकेको छैन । दशओटा सिँचाइ आयोजनाको कुल लागत करिब ५० करोड रुपैयाँ छ, तर डिभिजन प्रमुख राजेन्द्र महतोले एक–दुईओटा आयोजननाबाहेक अरू आयोजना सन्तोषजनक ढङ्गले चलेको दाबी गरे पनि चालू आर्थिक वर्षको आठ महिनामा भौतिक प्रगति भने २५ प्रतिशतको हाराहारीमा मात्र रहेको बताए ।

दुईओटा छुट्टाछुट्टै प्याकेजमा निर्माण सुरु गर्ने तयारीमा रहेको आयोजना फुलिकाको छिमेकी गाउँँ वनगाई डिहीका गाउँँलेले विरोध गरेपछि रोकिएको उनले बताए । ‘दुई गाउँको आपसी विवादले सिँचाइ आयोजना दुई महिनादेखि अवरुद्ध छ’, डिभिजन प्रमुख महतोले भने । चारसय पचास हेक्टर क्षेत्रमा सिँचाइ गर्ने उद्देश्यका साथ आयोजनाको काम थालिएको थियो । ‘वनगाई गाउँका स्थानीयवासीले आफ्नो गाउँसम्म नै सिँचाई लग्नुपर्छ भन्दै काम रोकेका छन्’ उनले भने, ‘सो आयोजनाको सर्भेक्षण नक्सा बमोजिम नै काम थालिएको हो ।’ वनगाईसम्म लिफ्टबाट पानी आपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि वनगाईले नमानेपछि काम अघि बढ्न सकेको छैन ।

सो आयोजना सञ्चालन गर्न सांसद चक्रपाणि खनाल, अतहर कमाल र काँग्रेस नेता दीपकुमार उपाध्यायले पहल गरे पनि अहिलेसम्म सुरु हुन सकेको छैन । ‘हामीले दुवै पक्षलाई मिलाएर काम चाँडो सुरु गराउनका लागि पहल गरेका छौँ’, सांसद कमालले भने । सो आयोजना २०७४ साल पुस ११ भित्र सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको थियो । वाणगङ्गा नगरपालिमा रहेको प्रगति नगरमौजा प्रथम चरणको आयोजनाको काम पनि सन्तोषजनक देखिएको छैन । आठ सय हेक्टर सिँचाइ गर्ने लक्ष्यका साथ पाँच करोड १४ लाख रुपैयाँको लागतमा आयोजनाको काम अझैसम्म १० प्रतिशतको मात्र भएको छ । निर्माण कम्पनी राजेन्द्र आशीष जेभीले सो काम पाएको छ । दोस्रो चरणमा चार करोड ७३ लाख रुपैयाँको लागतमा आयोजनाको काम भने आधा सकिएको थियो ।

बाबुल राजना जेभीले लिएको काम समयमै सकिने सिँचाइ डिभिजन कार्यालयले दाबी गरेको छ । दुवै चरणको काम आगामी वर्षको असोज १७ भित्र सम्पन्न गर्नुपर्ने गरी सम्झौता भएको छ । सातसय हेक्टर सिँचाइ गर्ने गरी सुरु भएको सात करोड ३५ लाख रुपैयाँको सिँचाइ आयोजनाको काम १० प्रतिशत मात्र भएको छ । तीन सय हेक्टर सिँचाइ गर्ने उद्देश्यले थालिएको लम्तिया सिँचाइ आयोजनाको समेत १० प्रतिशत मात्र काम भएको छ । नौ सय हेक्टर सिँचाई गर्ने गरी सञ्चालनमा रहेका दुवै चरणको सिँचाइ आयोजनाको काम भने अन्तिम चरणमा पुगेको डिभिजन प्रमुख महतोले बताए ।

पहिलो चरणको दुई करोड ८५ लाख र दोस्रो चरणको दुई करोड ९० लाख रुपैयाँ लागत छ । आठ करोड ८६ लाख रुपैयाँको भुताहा सिँचाइ आयोजना दोस्रोको निर्माण कार्य भने सम्पन्न भइसकेको छ । सो आयोजनाबाट ७ सय १५ हेक्टरमा सिँचाइ सुविधा विस्तार हुनेछ । रासस