शिलाजित सङ्कलन गरी उपभोग गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान नपुगेपछि वर्सेनि करोडाँैको नोक्सानी भइरहेको छ ।
प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भीरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजित सङ्कलन हुन सकेको छैन । शिलाजित सङ्कलन गरी उपभोग गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान नपुगेपछि वर्सेनि करोडौँको नोक्सानी भइरहेको छ ।
म्याग्दीका बाबियाचौर, ज्यामरुककोट, भकिम्ली, कुइनेमङ्गले, मुदी, मुना, ताकम, मराङ, बिमलगायतका पहरामा शिलाजित पाइन्छ । शिलाजित सङ्कलन गर्नेतर्फ सम्बन्धित पक्षले चासो नदेखाउँदा स्थानीयवासी निराश भएको ज्यामरुककोटका शिवराम शर्माले बताए ।
नुनिलो र टर्रो स्वाद हुने शिलाजित भीर पहरामा मात्र पाइन्छ । शिलाजित कालो र सेतो गरी दुई किसिमका हुन्छन् । पहराबाट निस्किएको एक प्रकारको रसायन जमेर शिलाजित बन्ने गर्दछ । कालो शिलाजितको रस नियमित सेवन गर्नाले धातु, गानोगोला, ग्यास्ट्रिक, नसासम्बन्धी रोग निको हुने जनविश्वास छ ।
शिलाजितको नियमित प्रयोग गर्नाले स्वास्थ्यका लागि निकै फाइदा पुग्ने जिल्ला आयुर्वेदिक चिकित्सकले बताएका छन् ।सङ्कलन हुनसक्ने हो भने म्याग्दीमा वार्षिक १० करोड रुपैयाँसम्मको शिलाजित बिक्री हुनसक्ने सम्भावना छ । तरपनि प्राविधिक ज्ञान र उपकरणको अभावमा यो खेर गइरहेको उद्योगी व्यापारीको भनाइ छ ।
बजारमा माग भए पनि सङ्कलन गर्ने आधुनिक सीप र प्रविधिको अभावमा शिलाजित खेर गइरहेको घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीले जनाएको छ । बजारमा प्रतिदशग्राम शिलाजित २५ देखि ३० रुपैयाँसम्ममा बिक्री हुन्छ ।
तर जडीबुटीको असन्तुलित व्यापारका कारण लगानीकर्ता यसतर्फ आकर्षित हुन नसकेको जिल्ला वन कार्यालय म्याग्दीले जनाएको छ । वन कार्यालयका अनुसार जिल्लाबाट न्यून मात्रामा मात्र शिलाजित निर्यात हुने गरेको छ । रासस