अर्थमन्त्री खतिवडा भन्छन् – नकारात्मक असर नगर्ने गरी विकासोन्मुख राष्ट्रमा स्तरोन्नति

आर्थिक तथा समाजिक क्षेत्रलाई थप सुदृढ बनाएपछि मात्रै अति कम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्न सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री खतिवडाको भनाइ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक तथा सामाजिक क्षेत्रमा नकारात्मक असर नपर्ने गरी मुलुकलाई अति कम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने बताएका छन् । अर्थमन्त्री खतिवडाले सोमबार संयुक्त राष्ट्र संघका उपमहासचिव फकिटामोलोवा काटोवा टोइकानमानुसँग अर्थमन्त्रालयमा अति कम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने विषयमा भएको छलफलमा भेट गर्दै आर्थिक तथा समाजिक क्षेत्रलाई थप सुदृढ बनाएपछि मात्रै स्तरोन्नति गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

उनले यथास्थितिमा स्तरोन्नति गर्दा विभिन्न समस्या देखिन सक्नेतर्फ सरकार सचेत रहेकाले केही समय स्थगित गर्नुपरेको बताए । वर्तमान सरकारले केही समय अघि मात्रै अहिलेकै अवस्थामा स्तरोन्नतिमा नजाने निर्णय गरेको थियो । त्यसअघि राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले यथास्थितिमा नेपाल अति कम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा जान नहुने निष्कर्ष सरकारलाई दिएको थियो । सन् २०२२ भित्र मुलुकलाई विकासोन्मुख राष्ट्रमा लैजाने अहिले देखिनै प्रक्रिया अघि बढाउनुपर्नेमा सरकार त्यसबाट बाहिरिएको छ ।

अर्थमन्त्री खतिवडाले त्यसअवसरमा संयुक्त राष्ट्रसंघलाई विभिन्न राष्ट्रहरुले खडा गर्ने व्यापार अवरोध हटाउन पनि दबाबमूलक भूमिका निर्वाह गर्न अनुरोध गरेका छन् । राष्ट्रसंघ विकासोन्मुख एवम् भूपरिवेष्ठित राष्ट्रहरुको पक्षमा उभिएको भन्दै उनले भूपरिवेष्ठित मुलुकमा यो वा त्यो बहानामा हुने व्यापार अवरोध हटाउन राष्ट्रसंघले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । २०७२ मा भारतले नेपालको सीमा नाकामा अवरोध पु¥याउँदा नेपालले ठूलो सास्ती खेप्नुपरेको थियो भने भूपरिवेष्टित राष्ट्र निर्बाध व्यापार गर्न पाउनुपर्ने पक्षमा वकालत गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको थियो । संयुक्त राष्ट्रसंघले तय गरेको दिगो विकास लक्ष्यलाई नेपालले आफ्ना कार्यक्रम र बजेटमार्फत आन्तरिकीकरण गरेको अर्थमन्त्रीको भनाइ छ । उनले राष्ट्रसंघले स्थापना गरेको प्रविधि बैङ्कबाट नेपालले फाइदा लिन सक्ने बताए ।

त्यस अवसरमा टोइकामनुले कठिन परिस्थितिमा पनि नेपालले सफलतापूर्वक राजनीतिक सङ्क्रमणकाल अन्त्य गरेको र त्यही बेला आएको विकासकारी भूकम्प तथा बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिको सफ एवम् उदाहरणीय व्यवस्थापन गरेकोमा नेपालको प्रशंसा गरेकी थिइन् ।