रसुवागढी हाइड्रोपावरः ७७ प्रतिशत सुरुङ पूरा

हाइड्रोपावरका आयोजना प्रमुख छवि गैरेका अनुसार विद्युत् गृहमा पानी पठाइने चार हजार २ सय मिटर हेडरेस सुरुङको लम्बाइमध्ये हालसम्मको निर्माण ७७ प्रतिशत पूरा भएको छ ।

उत्तरी रसुवाको टिमुरे तथा थुमन क्षेत्रमा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावरको काम दु्रत गतिले अगाडि बढेको छ ।

हाइड्रोपावरका आयोजना प्रमुख छवि गैरेका अनुसार विद्युत् गृहमा पानी पठाइने चार हजार २ सय मिटर हेडरेस सुरुङको लम्बाइमध्ये हालसम्मको निर्माण ७७ प्रतिशत पूरा भएको छ । खन्न बाँकी काम पूरा गराउन करिब २० प्राविधिक एवम् ३ सय मजदुरले काम गरिरहेका छन् । सन् २०१४ देखि भूमिगत संरचनाबाट निर्माण अगाडि बढेको रसुवागढी हाइड्रोपावर सन् २०१९ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

१३ अर्ब ६४ करोड ४० लाख रुपैयाँको लागत रहेको आयोजनामा निर्माण गर्नुपर्ने ३ सय १३ मिटरको पेनस्टक पाइप राख्ने सुरुङ, भोटेकोसीमा बाँध र विद्युत् गृह निर्माणको काम दु्रत रुपमा अगाडि बढिरहेको साइट इञ्चार्ज प्राविधिक गौतम खड्काले जानकारी दिए ।

भोटेकोसी नदीमा बाँध बाँधी विद्युत् गृहमा सुरुङमार्फत प्रतिसेकेन्ड ८० घनमिटर पानी पठाई १ सय ११ मेगावाट अर्थात् ६१ करोड ४० लाख युनिट विद्युत् उत्पादन हुने बताइएको छ ।

विसं २०६० भदौ ८ गतेदेखि उत्पादन सुरु भएको २२ मेगावाट क्षमताको चिलिमे र १ सय ११ मेगावाटको रसुवागढी मात्र सम्पूर्ण भूमिगत संरचनाका भएको प्राविधिकले बताएका छन् । विसं २०७२ को भूकम्पले चिलिमे जलविद्युत् केन्द्रलाई कुनै असर नपरेको समेत प्राविधिकले स्मरण गरेका छन् । रासस