ढकालले अहिले विश्वका ६५ मुलुकमा सो प्रविधि लागू भइसकेको जानकारी दिए । स्थानीय तहमा सो प्रविधि लागू गर्न रु ४० देखि ५० लाख पर्ने यन्त्र आवश्यक पर्ने बताइएको छ । झापामा फालिएको प्लाष्टिकजन्य फोहरबाट दैनिक २१ हजार लिटरभन्दा बढी उत्पादन गर्न सकिने नाष्टले जनाएको छ ।
झापाको कन्काई नगरपालिकास्थित सुरुङ्गामा प्लास्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन गरिएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले मङ्गलबार यहाँ प्लाष्टिकबाट पेट्रोलियम पदार्थ निकालेको छ । पाइरोलाइसिस नामक यन्त्रबाट प्लाष्टिकलाई पेट्रोलियम पदार्थमा रुपान्तरण गरिएको थियो । नाष्टका इन्जिनियर डा रवीन्द्रप्रसाद ढकालले एक किलोग्राम प्लाष्टिकबाट ६०० देखि ७०० मिलिलिटर पेट्रोलियम पदार्थ निकाल्न सकिने बताए। ‘यसलाई वर्गीकरण गरेर ६० प्रतिशत डिजल तथा २०÷२० पेट्रोल र मट्टीतेल छुट्याउन सकिन्छ,’ डा ढकालले भने, ‘नत्र सबै डिजल मात्र पनि बनाउन सकिन्छ ।’
कार्यपत्र प्रस्तुत गर्दै उनले प्लाष्टिकलाई नवीकरण गर्न सकिने र नसकिने वर्गीकरण गरेर पेट्रोलियम पदार्थ निकाल्न सकिने बताए । नवीकरण हुने प्लाष्टिकलाई पुनः नवीकरण गर्ने र नवीकरण नहुने प्लाष्टिकलाई पेट्रोलियम पदार्थ उत्पादन गर्न उनले सुझाए । यसअघि नाष्टले ३५ नगरपालिकामा सो प्रविधि प्रयोग गरेर देखाइसकेको छ ।
ढकालले अहिले विश्वका ६५ मुलुकमा सो प्रविधि लागू भइसकेको जानकारी दिए । स्थानीय तहमा सो प्रविधि लागू गर्न रु ४० देखि ५० लाख पर्ने यन्त्र आवश्यक पर्ने बताइएको छ । झापामा फालिएको प्लाष्टिकजन्य फोहरबाट दैनिक २१ हजार लिटरभन्दा बढी उत्पादन गर्न सकिने नाष्टले जनाएको छ ।
नाष्टका उपकुलपति प्रा डा जीवराज पोखरेलले जापानी संस्थासँग हातेमालो गरेर नेपालमा सो प्रविधि भित्र्याइएको र यसबाट मुलुक समृद्ध बनाउन योगदान पुग्ने जानकारी दिए । कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले प्लाष्टिकजन्य फोहरलाई नगरपालिकाले अवसरका रुपमा लिने बताए ।