तीन महिना पर्खनुस्, जनताले महसुस गर्ने गरी काम गर्नेछुः पर्यटन मन्त्री अधिकारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्राफिक चाप कम गर्ने विभिन्न विकल्पहरुबारे अध्ययन भइरहेको भन्दै केही दिनभित्रै ट्राफिक चाप कम गर्ने विकल्प सार्वजनिक गर्ने मन्त्री अधिकारीले बताए ।

पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले तीन महिनामा जनतालाई अनुभूति हुने काम गर्ने बताएका छन् । ससाना परिवर्तनबाट नै जनतालाई विश्वास दिलाउने चाहना भएको मन्त्री अधिकारीले बताए ।

पर्यटन बाेर्डले अायाेजना गरेकाे पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै अधिकारीले आफू दीर्घकालीन योजनाअनुरुप अगाडि बढ्ने कुरा समेत उल्लेख गरे । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्राफिक चाप कम गर्ने विभिन्न विकल्पहरुबारे अध्ययन भइरहेको भन्दै केही दिनभित्रै ट्राफिक चाप कम गर्ने विकल्प सार्वजनिक गर्ने बताए ।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न हुन समय लाग्ने भएकाले पनि विकल्प खोज्नु परेको उनले बताए । अन्तर्राष्ट्रिय विमानस्थलको चौतर्फी बिकास गर्ने र हाल भइरहेको लापरबाहीलाई पूर्ण रुपमा प्रतिस्थापन गर्दै अब आउने पर्यटकलाई सुविधायुक्त तरिकाले नेपाल भित्र्याइने उनको भनाइ थियो ।

‘आन्तरिक उडानलाई व्यवस्थापन गरेर विमानस्थल व्यवस्थित गर्ने चुनैती छ’, मन्त्री अधिकारीले भने । नेपालमा पर्यटकको सङ्ख्या मात्र वृद्धि गर्ने नभएर गुणस्तरीय पर्यटक ल्याउनेमा जोड दिँदै मन्त्री अधिकारीले आगामी ५ वर्षमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा २५ प्रतिशत योगदान पुर्याउने गरी काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

आन्तरिक पर्यटनको विकास नभई बाह्य पर्यटक आकर्षित हुन नसक्ने उल्लेख गर्दै देशमा भएका पर्यटकीय क्षेत्रलाई व्यवस्थित बनाउन पहल गर्ने पनि सञ्चारकर्मीहरुसँग भएको भेटमा बताएका हुन् । पर्यटन विविधीकरण तथा पूर्वाधार विकासमा जोड दिँदै देशमा विद्यमान रहेको व्यापार घाटा घटाउन पर्यटनले महत्त्वपूर्ण भूमिका निर्वाह गरी पर्यटन विकासमा इमान्दारीपूर्वक लागिपर्ने बताए ।

मन्त्री अधिकारीले लामो समयसम्म सञ्चारकर्मीहरुको सुझाव लिँदै देशमा विद्यमान पर्यटन तथा पर्यटकीयस्थलका समस्या र समाधनका उपायबारे जानकारी दिएका थिए ।