जलविद्युत् आयोजनाको माध्यमबाट छिटोभन्दा छिटो र दोहोर अङ्कको आर्थिक वृद्धिदर हासिल गर्न सकिने भन्दै मन्त्री पुनले त्यो क्षेत्रलाई विशेष प्रथमिकता दिएको बताए ।
ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरी नीति बनाइने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको समृद्धिका लागि जलविद्युत् शीर्षकको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
प्रत्येक वर्ष एक हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारले लक्ष्य लिएको छ । त्यसै अनुरुप मन्त्रालयले नीति बनाएर अघि बढ्ने मन्त्री पुनले जानकारी दिए । जलविद्युत् आयोजनाको माध्यमबाट छिटोभन्दा छिटो र दोहोर अङ्कको आर्थिक वृद्धिदर हासिल गर्न सकिने भन्दै मन्त्री पुनले त्यो क्षेत्रलाई विशेष प्रथमिकता दिएको बताए ।
आगामी दश वर्षभित्र स्वदेशमै खपत हुने गरी दश हजार मेगावाट विद्युत् उत्पादन गर्न अहिलेको स्थायी सरकारले नीति बनाएर अगाडि बढ्ने बताए । विगतमा सङ्कमणकालीन राजनीतिका कारण दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्न नसकेको बताउँदै मन्त्री पुनले अहिलेको स्थायी सरकारले समृद्धिको आधार जलस्रोतलाई लिएको उल्लेख गरे ।
अहिलेको सरकारले नीति तथा नियमलाई परिवर्तन गर्दै बहुआयामिक विद्युतको खपत गर्ने गरी नीति बनाउने बताए । ‘अहिले सङ्कमणकालीन राजनीतिको अन्त्य भएको छ । ५ वर्षका लागि जनताको ‘म्यान्डेड’ लिएर आएका छौँ’ मन्त्री पुनले भने, ‘पुरानै व्यक्ति परिवर्तन हुनुपर्छ । नीति त उहीँ हो । बरु नीतिगत सुधारका माध्यमबाट देशमा समृद्धि ल्याउनु सरकारको दायित्व हो ।’
देशलाई आर्थिक समृद्धिको दिशामा लैजान तथा दोहोरो अङ्कको आर्थिक समृद्धि हासिल गर्न ऊर्जा क्षेत्रको निर्माण गर्नुपर्ने बताए । त्यस्का लागि कर्णाली चिसापानी जस्ता ठूला जलविद्युत् आयोजनाहरु राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा निजी क्षेत्रसँग सहकार्य गर्न आफू तयार रहेको उनले बताए । ‘कर्णाली चिसापानी जस्ता ठूला आयोजना बनाउन ठूलो पुँजी आवश्यक छ । सरकारले ऊर्जा क्षेत्रमा मात्रै यत्रो ठूलो पुँजी जुटाउन सक्ने अवस्था छैन’ उनले भने, ‘त्यस्का लागि सरकार, विदेशी सहयोगदाता र निजी क्षेत्रसँग सरकारले सहकार्य गरी अगाडी बढ्छ ।’
ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई खुसी नबनाएसम्म विदेशी लगानीकर्ता आकर्षित नहुने भन्दै उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताए । पूर्व अर्थमन्त्री समेत भइसकेका पुनले दशौं लाख जनतालाई सेयर बिक्रीमार्फत लगानी गर्ने वातावरण मिलाउनुपर्ने बताए ।
कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाँईले ऊर्जा क्षेत्रको विकासमा सरकार र निजी क्षेत्रको भूमिका विषयमा आफ्ना भनाइ राखेका थिए ।