२६ बर्षपछि बलेवा एयरपोर्ट शुक्रबारदेखि सञ्चालनमा, भाडा ६५०० कायम,  तारा एयरकाे पहिलो उडान

विगत २६ बर्षदेखि रोकिएको बलेवा विमानस्थल सञ्चालनमा शुक्रबारदेखि आएको छ । शुक्रबारदेखि तारा एयरले दुइतर्फी रुपमा उडान गरेको छ । पहिलो पटक तारा एयर विमानले काठमाण्डौबाट १५ जना लिएर बलेवा विमानस्थल पुगेको थियो, भने बलेवा विमानस्थलबाट ७ जना लिएर काठमाडाैं फर्केको थियो ।

न्युनतम १२ जना यात्रीहरु हुनुपर्ने र त्यो भन्दा कम यात्रु भए पनि खर्च बागलुङ नगरपालिकाले बेहोर्ने सम्झौता भएको छ । फलस्वरुप शुक्रबारको उडानमा ७ जना मात्रै यात्री भएका कारण बाँकी ५ जना यात्रीको उडान खर्च बागलुङ नगरपालिकाले व्योहोरेको छ । शुक्रबारदेखि चैत्राष्टमी मेला सुरु भएका कारण पनि काठमाडाैं जाने व्यक्ति कम भएको बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । ‘चैत्राष्टमी सुरु भएकै दिन उडान पनि सुरु भएकाले ७ जना मात्रै काठमाडाैं जाने भए’ उनले भने, ‘थप ५ जनाको ६५ सयको दरले व्ययभार नगरपालिकाले बोहोर्ने छ ।’

विमानस्थल सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा चहलपहल बढेको छ । विमास्थल सञ्चालनमा आएसँगै त्यस क्षेत्रको पर्यटन, आर्थिक, सामाजिक क्षेत्रको विकासका लागि ढोका खुल्ने अपेक्षा गरिएको छ ।

हाललाई भाडादर ६५ सय रुपैयाँ

बलेवा विमानस्थल देखि काठमाडाैंसम्मको हवाई यात्राको भाडादर निर्धारण भएको छ । बागलुङ नगरपालिकाले सरकारले भाडा दर निर्धारण गर्ने बताएपछि हाललाई ६ हजार ५ सय रुपैयाँ कायम भएको बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । ‘हाललाई ६५ सय रुपैँया तोकिएको छ’ उनले भने, ‘पहाडी क्षेत्रको हिसावले केही महङ्गो भएको भन्दै गुनासो आएको छ । त्यस विषयमा नगरपालिकाले छलफल गरी सर्वसुलभ यात्राको व्यवस्था गर्नेछ ।’