खिम्ती—२ बनाउने जिम्मा चिनियाँ कम्पनीलाई

दोलखा र रामेछापको सिमानामा बन्न लागेको निर्माणाधीन खिम्ती—२ जलविद्युत आयोजना चिनियाँ कम्पनी चोङजिङ वाटर टर्बाइन वक्र्स (सीडव्लूटीडव्लू) चाइनाले निर्माण गर्ने सम्झौता भएको छ ।

४८.८ मेगावाट क्षमताको आयोजना निर्माण गर्न पिपुल्स इनर्जी लिमिटेड र चिनियाँ कम्पनी(सीडब्ल्यूटीडब्ल्यू)बीच फागुन ३० गते सम्झौता भएको हो । सन १९३८ देखि चीनमा सञ्चालनमा आएको कम्पनीले सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल, ट्रान्समिसन लाइन सम्वन्धि सवै कामहरु इन्जिनिरिङ, खरिद तथा निर्माण (ईपीसी) मोडेलमा निर्माण गर्दै आएको छ ।

उक्त चिनियाँ कम्पनीले खिम्ती—२ जलविद्युत आयोजना ईपीसी तथा फाइनान्सिङ मोडलमा निर्माण गर्ने प्रस्ताव गरेसँगै जलविद्युत् आयोजना कम्पनी पिपुल्स इनर्जी कम्पनी लिमिटेड र सीडब्ल्यूटीडब्ल्यूबीच निर्माणको सम्झौता भएको हो । इन्जिनियरिङ, खरिद तथा निर्माण(इपिसी) मोडेलमा बन्ने यो नै पहिलो जलविद्युत आयोजना हुनेछ ।

एक बर्ष अघि निर्माणको अनुमति पाएको उक्त आयोजनाले आगामी २०७७ चैत मसान्तसम्म निर्माण सम्पन्न हुने गरी सम्झौता गरिएको पिपुल्स इनर्जी कम्पनीका कार्यकारी अध्यक्ष कृष्ण आचार्यले जानकारी दिए । कम्पनीले ८ अर्ब ८० करोड रुपैयाँमा निर्माणको ठेक्का सम्झौता गरेको आचार्यले बताए ।

ठेकेदार कम्पनी सीडब्ल्यूटीब्ल्यूलाई सुरुमा १० प्रतिशत रकम पेश्की बापत दिने र बाँकी रकम विद्युत उत्पादन भएको सात सय दिन भित्र दिने सम्झौता भएको उनले बताए । आयोजनाको वित्तीय व्यवस्थापन सानिमा बैङ्क लिमिटेडको नेतृत्वमा विभिन्न ९ ओटा बाणिज्य बैङ्कहरुले गरिरहेको कम्पनीले जनाएको छ ।

निजीक्षेत्रको लगानीमा बन्न लागेको उक्त आयोजनाको काम चिनियाँ कम्पनीले आगामी २०७५ बैशाखदेखि सुरु गर्ने भएको छ । पिपुल्स इनर्जी कम्पनीले हाल ४ ओटा आयोजनाहरु निर्माण गरिरहेको छ ।

हालसम्म आयोजनाको विस्तृत सर्वेक्षण, भौगर्भिक अध्ययन तथा जग्गा खरिद सम्पन्न भइ विद्युत गृृह, अडिट टनेल, बाँधस्थलसम्म पुग्ने बाटोको काम अन्तिम चरणमा पुगेको आयोजनाका सञ्चालक इन्जिनियर रामहरी शर्माले जानकारी दिए ।