कतारबाट नेपाल पैसा पठाउन समस्या, समाधानका लागि दूतावास सक्रिय

खाडीका ४ मुलुकले कतारमाथि कुटनीतिक सम्बन्ध तोड्दै अघोषित आर्थिक नाकाबन्दी लगाएपछि कतारको आर्थिक अवस्थालाई कमजोर हुन नदिन कतारको केन्द्रीय बैङ्कले रेमिट्यान्स पठाउन कडाइ गर्दा त्यसको समस्या कामदारलाई पर्न थालेको छ ।

त्यहाँको केन्द्रीय बैङ्क क्यूसीबीको निर्देशनपछि बैङ्कहरुले कतारबाट रेमिट्यान्स पठाउने रकममा सीमा तोक्न थालेपछि कामदारले कतारमा कमाएको रकम आफ्नो मुलुकमा पठाउन समस्या भएको हो । कतारमाथि नौ महिनाअघि बहराइन, इजिप्ट, साउदी अरब, यूएईले कुटनीतिक सम्बन्ध विच्छेद र ती मुलुकसहित लिबिया, यमन, माल्दिभ्सले हवाई सम्बन्ध विच्छेद गरेका थिए ।

कतारमा ५ लाखभन्दा बढी नेपाली कामदार छन् । कतारको बैङ्कले रेमिट्यान्समा हदबन्दी तोक्न थालेपछि त्यसको मारमा नेपाली कामदारहरु पनि परेका छन् । विगतमा कामदारले पठाउने रकमको तुलनामा ६० प्रतिशत कम रकम पठाउन स्वीकृत हुन थालेको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइराराले कामदारले पठाउने रकममा बैङ्कहरुले कडाइ गरिरहेको बताए । बैङ्क र रेमिट्यान्स कम्पनी हेरेर पठाउने रकमको हदबन्दी तोकिएको छ, उनले भने । यसले कतारमा कमाइ गरिरहेका कामदारले अहिले सहज रुपमा नेपालमा पैसा पठाउन नसकेको उनले बताए । एकपटकमा १ हजारदेखि १५ सय रियालसम्म मात्र पठाउन सकिने र त्यसमा पनि महँगो शुल्क हुन थालेपछि दूतावासले समस्या समाधानका लागि पहल गरेको हो, उनले भने ।

राजदूत कोइरालाले कतार सेन्ट्रल बैङ्क (क्यूसीबी) का गभर्नर शेख अब्दुल्ला बिन सऊद अल थानीसँग भेट गरेर रेमिट्यान्सको समस्याको विषयमा कुरा गरेका छन् । कामदारले पठाउने पैसामा कडाइ भएपछि यहाँको केन्द्रिय बैङ्कसँग कुरा भएको छ, राजदूत कोइरालाले टेलिफोनमा क्यापिटल नेपालसँग भने । ‘गभर्नरसँगको कुराकानीपछि सरकारका अरु प्रतिनिधिसँगपनि यस विषयमा कुराकानी भएको छ,’ उनले भने । चाँँडोभन्दा चाँडो समस्याको समाधान हुने उनीहरुले बताएको कोइरालाले जानकारी दिए । कतारको केन्द्रीय बैङ्कले बैङ्क तथा रेमिट्यान्स कम्पनीहरुले रकमको हदबन्दी तोक्ने काम गैरकानुनी भएकाले चाँडै समाधान हुने आश्वासन दिइएको कोइरालाले बताए ।

कामदारका लागि मोबाइल एप

कतार सेन्ट्रल बैङ्क (क्यूसीबी) ले विदेशी श्रमिकहरुले आफ्नो देशमा सजिलै पैसा पठाउन सकून् भनेर एउटा मोबाइल रेमिट्यान्स एपको निर्माण गर्न थालेको जनाएको छ ।

कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले क्यूसीबीका गभर्नर शेख अब्दुल्ला बिन सऊद अल थानीसँग गरेको भेटवार्तापछि थानीले यस्तो जानकारी गराएको कोइरालाले बताए ।

यो एपको माध्यमले कामदारहरुले स्वदेशमा पैसा पठाउँदा निकै कम खर्च लाग्छ । ‘अब बन्ने एपको माध्यमले पैसा पठाउँदा प्रतिट्रान्जेक्सन पाँच कतारी रियाल लाग्छ, जुन अहिले लिइँदै गरेको १० रियालभन्दा आधै सस्तो हुन्छ’, राजदूत कोइरालाले भने ।
यो मोबाइल एपले नेपाल जस्तै अन्य एसियाली मुलुक भारत, बङ्ग्लादेश तथा पाकिस्तानका कामदारहरुले सजिलो, छिटो, सस्तो र सुरक्षित किसिमले आआफ्ना देशमा पैसा पठाउन सक्ने कतारको केन्द्रीय बैङ्कले जनाएको छ ।

क्यूसीबीको एपले पनि आकर्षक विनिमय दर पेस गर्ने अपेक्षा गरिएको छ, राजदूतले भने, यसको अर्थ अब कामदारहरुले आफ्नो फ्री समयलाई परम्परागत तरिकाले पैसा पठाउने काममा खेर फाल्नु पर्दैन ।

कतारका केही एक्सचेन्ज हाउसहरुले दैनिक विप्रेषण गर्न पाउने पैसाको सीमासम्बन्धी मुद्दा पनि क्यूसीबीको मोबाइल एपले समाधान गर्नेछ । उनले अगाडि भने, अधिकांश स्थानीय बैङ्कहरुलाई उक्त एपसँग जोडिनेछ । साथै एपको सहयोगले आफ्नो बैङ्क–ब्यालेन्स तथा स्टेटमेन्ट हेर्न र खातासम्बन्धी अन्य सबै कुरा थाहा पाउन सकिन्छ ।

एप लन्च भएपछि त्यसको प्रयोग गर्न आफ्ना देशका सबै कामदारहरुलाई तालिम दिने व्यवस्था मिलाउन दूतावासले यहाँका विभिन्न बैङ्कहरुसँग समन्वय गर्नेछ ।

राजदूत कोइरालाले भने, क्यूसीबीका गभर्नरले यो पनि आश्वासन दिएका छन् कि तलब संरक्षण प्रणाली (वेज प्रोटेक्सन सिस्टम–डब्ल्यूपीएस) ले आप्रवासी श्रमिकहरुले समयमै तलब पाउने सुनिश्चित गर्नेछ ।

डब्ल्यूपीएसले अब आउने मोबाइल ऐपसँग मिलेर आप्रवासी श्रमिकहरुको ज्याला र रेमिट्यान्ससम्बन्धी सबै समस्याहरु सम्बोधन गर्ने राजदूत कोइरालाले बताए ।