रेलमार्गका लागि माटो परीक्षण हुँदै

प्याकेज–१ अन्तर्गत विभिन्न स्थानमा माटो परीक्षण भइरहेको छ । सो खण्डको माटो परीक्षणको जिम्मा पाएको ईआरएमसीजीओ टेक्निकल प्रालिले काम अगाडि बढाएको छ । माटो परीक्षण प्रत्येक ५ सय मिटरमा गर्ने गरिएको छ ।

सरकारको पूर्व–पश्चिम रेलमार्ग सञ्चालनको योजनाअनुसार रेलमार्ग विस्तारका लागि कपिलवस्तु क्षेत्रमा माटो परीक्षण कार्य सुरु गरिएको छ ।

प्याकेज–१ अन्तर्गत विभिन्न स्थानमा माटो परीक्षण भइरहेको छ । सो खण्डको माटो परीक्षणको जिम्मा पाएको ईआरएमसीजीओ टेक्निकल प्रालिले काम अगाडि बढाएको छ । माटो परीक्षण प्रत्येक ५ सय मिटरमा गर्ने गरिएको छ । पानी जम्ने खाल्टा नालामा ३०० मिटरमा परीक्षण गर्ने गरेको कालिका ड्रिलिङ प्रालिका प्राविधिक शिवराम रिजालले बताए ।

पुल क्षेत्रमा ३० मिटर र मैदान क्षेत्रमा १५ मिटर गहिराइमा पुगी नमुना सङ्कलन गरिएको छ । प्राविधिक टोलीले नमुना सङ्कलन गरेको छ । सङ्कलित नमुनालाई परीक्षणका लागि काठमाडौँ लगिनेछ । नमुना सङ्कलनका लागि रोटरी रिभर्स र जीओ कोर सिस्टम नामक दुई यन्त्र प्रयोगमा ल्याइएको छ ।

रोटरी रिभर्स फराकिलो सडक भएको ठाउँमा प्रयोग हुन्छ । यो बोरिङ खन्नसमेत प्रयोग गरिन्छ । जीयो कोर सिस्टम वन क्षेत्र र साँघुरो बाटो भएका ठाउँमा प्रयोग गरी माटो सङ्कलन भइरहेको प्राविधिक रिजालले बताए । एक महिना अगाडि चन्द्रौटाबाट सुरु गरिएको माटो सङ्कलन कार्यअन्तर्गत शिवराज नगरपालिका र बुद्धभूमि नगरपालिकाको नमुना सङ्कलन भइसकेको छ । वैशाखभित्र नमुना सङ्कलनको काम पूरा हुने सो कार्यक्रममा संलग्न प्राविधिकहरु बताउँछन् ।

रेलमार्ग निर्माणको जिम्मा पाएको रेलवे विभागले सो कार्यलाई विभिन्न प्याकेजमा काम गर्दै आएको छ । विभागले प्याकेज–१ को बुटवल–लमही खण्डअन्तर्गत ११० किमीमा काम अगाडि बढाएको छ । रासस