एयरपोर्ट भएर पनि १४ जिल्ला हवाई सेवाबाट वञ्चित

सडक यातायात सस्तो भएको र हवाई यातायातबाट यात्रा गर्न महँगो पर्ने भएकाले १४ जिल्लामा एयरपोर्ट भएर पनि हवाई सेवा सञ्चालनमा तदारुकता देखाइएको छैन ।

सडकमार्गको पहुँच पुगेको एयरपोर्ट भएर पनि १४ जिल्लाका स्थानीयले तत्कालका लागि हवाई सुविधा नपाउने देखिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बन्द अवस्थामा रहेका २० एयरपोर्र्टमध्ये १४ ओटा सञ्चालन गर्न नसकिने जानकारी दिएको छ ।

यात्रुको अभाव भएकै कारण १४ ओटा एयरपोर्र्ट सञ्चालन गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । ‘सडकमार्ग नपुगेको बेला जनतालाई सुविधा दिन हवाई सेवा सञ्चालन गरेका हौं, तर अहिले सडक पुगेपछि एयरपोर्र्ट बन्द भयो, अब सञ्चालन गर्न सक्दैनौं’, प्रवक्ता श्रेष्ठले भने ।

यी क्षेत्रमा सडक पुगेपछि सडक यातायात सस्तो भएको र हवाई यात्रा महँगो हुने भएकाले यात्रुको रोजाइमा हवाई यातायात नपरेको उनले बताए । ‘यसै पनि सडक यातायात सस्तो हुन्छ’, उनले भने, ‘सर्वसाधारणले पनि सस्तोमा यात्रा गर्न खोज्ने भएकाले सडक यातायात प्राथमिकतामा परेको छ । सामान ढुवानीका लागि पनि सडक यातायाले सघाएको छ ।’

सञ्चालन गर्न नसकिने एयरपोर्र्टहरुमा बैतडी, बझाङ, दार्जुला, ढोरपाटन, जिरी, खलङ्गा, लाङटाङ, महेन्द्रनगर, मनाङको हुम्दी, पालुङटार, राजविराज, रोल्पा, स्याङ्बोचे र टीकापुर एयरपोर्ट रहेको क्यानले जानकारी दिएको छ ।