३३ वर्ष बित्दा पनि सडक बनेन

कैलालीका दुई र डोटीका चारओटा गाउँपालिका जोड्ने दिपायल–बोगटान सडकको अहिलेसम्म ६५ किलोमिटर सडकको ट्र्याक मात्र खोलिएको छ । यो २०४२ सालदेखि निर्माण कार्य थालिएको सडक हो ।

निर्माण कार्य सुरु गरिएको ३३ वर्ष पूरा हुँदा पनि बिपी नगर– बोगटान– दिपायल सडकले पूर्णता पाउन सकेको छैन ।

कैलालीका दुई र डोटीका चारओटा गाउँपालिका जोड्ने दिपायल–बोगटान सडकको अहिलेसम्म ६५ किलोमिटर सडकको ट्र्याक मात्र खोलिएको छ । यो २०४२ सालदेखि निर्माण कार्य थालिएको सडक हो ।

सुरुमा राष्ट्रिय योजनामा परेर काम थालेको भए पनि अहिले प्राथमिकताबाट हटाइएपछि सडक निर्माणले कछुवा गति लिएको हो । सडकको जंगल क्षेत्रमा वातावरणीय प्रभाव मूल्यांङ्कनमा भएको ढिलाइले दुईवटा आर्थिक वर्षको बजेट फ्रिज भएको सडक विभागका निर्देशक शिवकुमार नेपालले बताए । ‘पहिला वातावरणीय प्रभाव अध्ययनमा भएको ढिलाइले बजेट फ्रिज भए पनि अहिले काम निरन्तर भइरहेको छ, सडक निर्माणका लागि रकमको अभाव छैन,’ उनले भने ।

बोगटान सडक डोटी जिल्लाकै सबैभन्दा पुरानो सडक हो । सडक निर्माण कार्य अलपत्र पर्दा यहाँको जीवनस्तरसमेत माथि उठ्न नसकेको स्थानीयवासी धनबहादुर कलले जानकारी दिए । निर्माणाधीन यो सडकको निर्माण कार्य अनिश्चित भएपछि स्थानीयवासी निरास भएको उनले बताए ।
छिमेकी जिल्ला कैलालीको चुरे गाउँपालिकाको सहजपुरदेखि डोटीको बडिकेदार अतरकाँडासम्म मात्र सडक पुगेको छ । एक सय आठ किलोमिटर लामो सडकको अहिलेसम्म ६५ किलोमिटर मात्र ट्र्याक निर्माण गरिएको छ । ट्र्याक खोलिएको उक्त सडकमध्ये १८ किलोमिटरमा मात्र १२ महिना सवारी चल्ने गर्दछ ।

सडक डिभिजन कार्यालयले निर्माण गरिरहेको सडक तत्कालीन समयमा कृषि सडकका रुपमा नामकरण गरेर डोटीका साविकका १७ गाविसका कृषकलाई लाभ पुर्याउने उद्देश्यका साथ निर्माण सुरु भएको थियो ।