सवा दुई लाख सवारी थपिए

हरेक सवारी आयात बढेसँगै राजस्व पनि बढेको छ । एक वर्षको अवधिमा सरकारले अटो बजारबाट एक सय अर्ब रुपैयाँ राजस्व संकलन गरेको नेपाल अटो मोबाइल्स डिलर्स एसोसिएसन(नाडा)ले जनाएको छ ।

 

तीव्र पूर्वाधार विकास नभए पनि धान्नै नसकिने गरी मुलुकमा सवारी आयात बढेको छ । चालू आर्थिक वर्षको पहिलो सात महिनामै सवा दुई लाख नयाँ सवारीसाधन थपिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार माघसम्म २ लाख २४ हजार ६ सय ८१ नयाँ सवारी साधन दर्ता भएका छन् । यसको तुलनामा आगमनको संख्या अझै बढि रहेको छ । यो वर्ष बस १६ सय ९१, मिनी बस, मिनी ट्रक ९ सय ५७, जोडर, एक्साभेटर ३९ सय ६६, कार, जिप, भ्यान ७६ सय ५१, पिकअप जिप ४१सय ५४, टेम्पो १० हजार ७६, मोटरसाइकल १ लाख ८३ हजार २ सय १७, पावर टेलर ६१ सय ८९, ईरिक्सा ६१ सय ३१ दर्ता भएका छन् ।

अब मुलुकमा सवारीसाधनको संख्या ३० लाख ८१ हजार पुगेको छ । सवारीसाधन विकासको सूचक समेत भएकाले पूर्वाधार निर्माणसँगै सवारी थपिने क्रम ढेको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए । सवारीसाधन व्यवस्थापले चुनौती थपेको उनको बुझाइ छ ।

सहरी पूर्वाधार निर्माण व्यवस्थित नभए पनि गाउँ गाउँमा खनेका कच्ची बाटा, निजी सवारी प्रयोगकर्ताको संख्या वृद्धिले सवारीको चाप बढेको विभागले जनाएको छ । पछिल्लो १०वर्षमा सवारीसवारी आयात पाँच गुणाले बढेको विभागको तथ्यांकले देखाउँछ ।

आर्थिक वर्ष ०६३/६४ मा ८८ हजार ७ सय ३५ सवारी दर्ता भएकोमा ०७३÷७४मा ४ लाख ४४ हजार २ सय ५९ सवारी दर्ता भएका थिए ।

अघिल्ला वर्षका तुलना गर्दा हरेक वर्ष एक लाखभन्दा बढी सवारी थपिएका छन् । आर्थिक वर्ष ०७२/७३ मा ३ लाख ४३ हजार ७ सय ६५ सवारी दर्ता भएकोमा गत आर्थिक वर्षमा १ लाख ४ सय ९४ बढेर ४ लाख ४४ हजार २ सय ५९ पुगेको छ । एक दशकको अवधिमा मोटरसाइकल प्रयोग वृद्धिदर ४.८७ गुणा, कार, जिप ४.१२, ठूला बस ३.४१ गुणाले वृद्धि भएको छ ।

तीमध्ये ठूला बस ४६ हजार ३ सय ४६, मिनी बस÷ट्रक २६ हजार ६ सय २२, क्रेन, डोजर, एस्काभेटर, ट्रक ७८ हजार २ सय ५७, कार, जिप, भ्यान २ लाख १३ हजार ३ सय २०, पिक अप ४५ हजार ६ सय ३१, माइक्रो ५ हजार ७ सय २४, टेम्पो २९ हजार ४ सय ६३, मोटरसाइकल २१ लाख ८९ हजार ९९, ट्र्याक्टर, पावरटेलर १ लाख ३० हजार ५ सय ६६, ई–रिक्सा १४ हजार १ सय ४१ र अन्य ७ हजार २ सय ५९ रहेका छन् । सबैभन्दा चाप उपत्यकामा रहेको छ ।

वाग्मती यातायात कार्यालयका अनुसार १० लाख ४२ हजार ८ सय ५८ सवारी साधन दर्ता भएका छन् । निजी सवारीको संख्या पनि एकाएक बढेको छ । वाग्मती अञ्चल कार्यालयमा १ लाख ३९ हजार ९ सय ८१ कार, जिप दर्ता भएका छन् भने ६ लाख १७ हजार ४ सय ७३ मोटरसाइकल मात्र रहेका छन् । यसले पनि उपत्यकामा निजी सवारी प्रयोगको संख्या बढि देखाउँछ ।

काठमाडौँ उपत्यकाभित्र हाल १५ सय किलोमिटरको हाराहारीमा सडक छ । तर, व्यवस्थित सडक करिब पाँच सय किलोमिटर मात्र रहेको ट्राफिक प्रहरी बताउँछन् । उपत्यकाको सवारी व्यवस्थापन प्रभावकारी बनाउन वडिवन क्यामरा, ड्रोन क्यामरामार्फत सवारीसाधन व्यवस्थापन गर्दै आए पनि पूर्वाधारको कारण कठिनाइ भएको छ । काठमाडौं–भक्तपुर–सूर्यविनायकमा सरकारले ६ लेनको बाटो बनाएको छ । तर, सो क्षेत्रमा अहिले घण्टौं जाम परिरहेको छ । उपत्यकामा सबै ठाउँमा हुने जामले गन्तव्यमा पुग्न कठिन हुने गरेको छ ।

हरेक सवारी आयात बढेसँगै राजस्व पनि बढेको छ । एक वर्षको अवधिमा सरकारले अटो बजारबाट एक सय अर्ब रुपैयाँ राजस्व संकलन गरेको नेपाल अटो मोबाइल्स डिलर्स एसोसिएसन (नाडा)ले जनाएको छ ।