चौधौं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला बैशाख दोस्रो साता

‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने मुल सन्देशका साथ वैशाख दोस्रो सातादेखि राजधानीमा ‘नेपाल चौधौं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’ हुने भएको छ । मेलाको आयोजक समेत रहेको नेपाल घरेलु तथा साना उद्योग महासङ्घले आइतबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
आयात बस्तुलाई प्रतिस्थापन गर्ने र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ आगामी वैशाख १४ देखि १८ गतेसम्म प्रदर्शनीमार्ग भृकुटीमण्डपमा उक्त मेलाको आयोजना भएको महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले जानकारी दिए ।
तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन समेत गरिने प्रदर्शनीले मुलुकको औद्योगिकरणको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि–आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षणका रुपमा रहने मेला संयोजक मोहन कटवाल बताए ।

प्रदर्शनीकै बीच वैशाख १५ गते नेपाल चाइना कार्यकारी परिषद्को सहकार्यमा नेपालमा चाइनिज लगानी प्रवद्र्दन गर्न चाइनिज लगानीकर्ता सम्मिलित ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ को सन्दर्भ पारेर बीटुबी कार्यक्रम आयोजना गरिने महासंघले जनाएको छ ।
त्यस्तै सार्क मुलुकका लघु घरेलु तथा साना उद्योगहरुको पारस्परिक हित प्रवद्र्धन गर्न र सार्क स्तरिय नेटवर्क बिस्तार गर्ने उद्देश्यले सन् २००५ मा नेपाल, भारत, श्रीलंका, भुटान र बंगलादेशका छाता संस्थाहरुको सम्मेलनबाट स्थापना गरिएको साउथ एसियन कन्ट्रिज एसएमइ फोरमको तेस्रो सम्मेलन वैशाख १६ गते आयोजना हुने महासंघले जनाएको छ । सम्मेलनमा नेपाल, भारत, श्रीलंका, भुटान, अफगानिस्तान, पाकिस्तान, मालदिभ्स र बंगलादेश समेतका साना तथा मझौला उद्योगका छाता संस्थाका प्रतिनिधिहरु तथा छिमेकी राष्ट्र चीन पर्यवेक्षकको रुपमा सहभागिता रहने बताइएको छ ।

प्रदर्शनीमा नेपालका ७५ वटै जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने छ । २५० वटा स्टलको व्यवस्था हुने र पाँच दिनसम्म चल्ने प्रदर्शनीमा दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने र सात करोड भन्दा बढीको प्रत्यक्ष र १० करोड बराबरीको अप्रत्यक्ष कारोवार हुने प्रक्षेपण महासङ्घको भनाइ छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने मेलाको सह–आयोजकको रुपमा उद्योग मन्त्रालय–लघु, घरेलु तथा साना उद्योग विकास कोष, वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द«, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, अन्तराष्ट्रिय श्रम संगठन आइएलओ रहने छन् ।