ढोरपाटन र आसपासका क्षेत्रको पर्यटकीय सम्भावना उजागर गरिने

नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको आयोजनामा बुर्तिवाङमा भएको अन्तरक्रियामा सिकार आरक्षका रुपमा लामो समयदेखि परिचित यस क्षेत्रको विकास अपेक्षित रुपमा अघि बढ्न नसकेको वक्ताहरुले बताए ।

पर्यटकीय रुपमा लामो समयदेखि राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा परिचित भएर पनि विकासका दृष्टिले ढोरपाटन र आसपासका क्षेत्र ओझेलमा परिरहेको बागलुङ जिल्लाको बुर्तिवाङमा आयोजित एक अन्तरक्रियामा चर्चा गरिएको छ ।

नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको आयोजनामा बुर्तिवाङमा भएको अन्तरक्रियामा सिकार आरक्षका रुपमा लामो समयदेखि परिचित यस क्षेत्रको विकास अपेक्षित रुपमा अघि बढ्न नसकेको वक्ताहरुले बताए । ढोरपाटन यस क्षेत्रको मात्र नभएर समग्र प्रदेश नं ४ र राष्ट्रकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास हुने सम्भावनायुक्त स्थल भएको प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले बताए ।

‘सम्भावना भएर पनि ढोरपाटन र आसपासको अपेक्षित विकास हुन सकेको छैन,’ पाठकले भने, ‘यहाँको विकासका लागि अधिकार सम्पन्न ढोरपाटन विकास समिति बनाउनु अपरिहार्य छ ।’ विकास समितिमार्फत एक वर्षमा गुरुयोजना बनाएर अघि बढ्न सकियो भने यसले विकासमा फड्को मार्ने देखिन्छ । नाट्टा पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सन्तोष पोखरेलले पोखरा र ढोरपाटनलाई पर्यटकीय रुपमा एकापसमा जोड्न सकिने बताउँदै यस क्षेत्रको विकासले समग्र प्रदेश नं ४ को पर्यटनमा टेवा पुग्ने धारणा राखे ।

ढोरपाटन र आसपासका क्षेत्रलाई पोखराको पर्यटनसँग जोड्ने उद्देश्यका साथ अवलोकन भ्रमण आयोजना गरिएको उनले बताए । ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले ऐतिहासिक ढोरपाटनमा कसरी अधिकतम पर्यटक पठाउन सकिन्छ भन्नेतर्फ सरोकारवाला सबैको ध्यान पुग्नु आवश्यक भएकामा जोड दिए । उनले पोखरासँग ढोरपाटनबीच पर्यटकीय साझेदारीको खाँचो औँल्याउँदै सञ्चालनमा आउन नसकेको ढोरपाटन विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने उल्लेख गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले सन् १९८७ देखि सञ्चालनमा आएको ढोरपाटन सिकार आरक्ष र आसपासको क्षेत्र अझै पनि पर्यटकीय रुपमा अपेक्षित विकास हुन नसकेको अवस्थामा सरोकारवाला सबैको ध्यान पुग्नु जरुरी भएको बताए । प्रचारप्रसारका साथै सबैको प्रयास भएमा समग्र प्रदेश नं ४ लाई नेपालकै नमुना प्रदेका रुपमा स्थापना गर्न सकिने उनले बताए । प्रदेश सभा सदस्य टेकबहादुर घर्तीले ढोरपाटनलाई पत्रपत्रिकामा मात्र सीमित नगरेर यसको कसरी विकास गर्न सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढाले ढोरपाटनलगायत प्रदेशभित्रका सबै पर्यटकीय सम्भावनालाई उजागर गर्ने गरी अघि बढ्नुपर्ने बताए । नाट्टा पश्चिमाञ्चल क्षेत्रीय सङ्घका महासचिव हरिराम अधिकारीले ढोरपाटनलाई पोखराको पर्यटनसँग जोड्नुका साथै यसको प्रचारप्रसार लगायतका उद्देश्य राख्दै अवलोकन भ्रमण आयोजना गरिएको स्पष्ट पारे ।

कार्यक्रम संयोजक कुलचन्द्र शर्माले अध्ययन भ्रमणका क्रममा ढोरपाटनसहित यस आसपासका पर्यटकीय स्थलको पनि प्रवद्र्धनात्मक भ्रमण गरिने जानकारी दिए । वासुदेव पौडेल / रासस