पशुपक्षी बिमा गराउने बढ्दै

पशु बिमा गर्दा लाग्ने खर्चमध्ये ७५ प्रतिशत रकम सरकारले अनुदानबापत बिमा कम्पनीलाई भुक्तानी दिएसँगै पशुपक्षी बिमा गराउने क्रम बढेको कार्यालयका प्रमुख डा चन्द्रबहादुर रानाले जानकारी दिए ।

पछिल्लो समयमा दाङ जिल्लाका किसानमा पशुपक्षीको बिमा गराउने क्रम बढेको छ । बिमा गराउँदा सरकारले अनुदान दिन थालेपछि पशुपछी बिमा गराउने क्रम बढ्दै गएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

पशु बिमा गर्दा लाग्ने खर्चमध्ये ७५ प्रतिशत रकम सरकारले अनुदानबापत बिमा कम्पनीलाई भुक्तानी दिएसँगै पशुपक्षी बिमा गराउने क्रम बढेको कार्यालयका प्रमुख डा चन्द्रबहादुर रानाले जानकारी दिए । आर्थिक वर्ष २०७४/७५ को पुस मसान्तसम्म यहाँ आठ हजार ७ सय ७६ पशुपक्षीको बिमा भएको छ । जसमा गाईभैँसी २ सय ४, बाख्रा २ सय ९४, बङ्गुर ४९, कुखुरा लेयर्स एक हजार ८ सय र ब्रोइलर छ हजार २ सय २९ ओटाको बिमा गरिएको छ ।

विसं २०७१ देखि जिल्लामा नेसनल लाइफ, शिखर, एभरेष्ट इन्स्योरेन्स बिमा कम्पनीमार्फत पशुपक्षीको बिमा गराउँदै आएको र त्यसबापत चार करोड ६३ लाख ३८ हजार रुपैयाँ सङ्कलन भएको छ । बिमा कम्पनीले एउटा पशुको एक वर्षका लागि निर्जीवन बिमा गर्दै आएका छन् । कुखुराको बिमा सरदर ७ सय, उन्नत गाईको एक लाख ५० हजार, उन्नत भैँसीको बिमा एक लाख २५ हजार रुपैयाँसम्मा हुने गर्छ ।

पशु सेवा कार्यालयले पशुपालक किसानलाई बिमाप्रति आकर्षित गर्न सार्वजनिक सूचना प्रवाह र गोष्ठी तथा विभिन्न कार्यक्रम गर्दै आएको छ । बिमा अभिकर्ता पनि हाल गाउँ गाउँमा पुगेर सिकानलाई बिमा बारेमा जानकारी दिँदै आएका छन् । रासस