पहिलो पटक हुने भयो ‘राष्ट्रिय आर्थिक गणना २०७५’, बैशाख २ बाट सुरु

आगमी बैशाख २ गतेदेखि नेपालमै पहिलो पटक राष्ट्रिय आर्थिक गणना २०७५ सुरु हुने भएको छ । राष्ट्रिय योजना आयोगको सचिवालय राष्ट्रिय आर्थिक गणना, २०७५ जिल्ला आर्थिक गणना कार्यालयहरुले मुलुकभरका ७७ ओटै जिल्लाहरुमा एकैपटक गणना सुरु गर्ने भएको हो ।

राष्ट्रिय आर्थिक गणना २०७५मा जिल्ला आर्थिक गणना कार्यालय काठमाडौं र नेपाल चेम्वर अफ कमर्सको संयुक्त आयोजनामा आइतबार राजधानीमा भएको गोष्ठीमा यसबारे जानकारी दिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला आर्थिक गणना समन्वय समितिका अध्यक्ष केदारनाथ शर्माले नेपालमै पहिलो पटक नयाँं वर्षको सुरुवातसँंगै गणनाको काम सुरु हुने जानकारी दिए । वैशाख १ गते शनिबार परेकाले देशैव्यापी रुपमै बैशाख २ गते आइतबारदेखि काम सुरु हुने उनले जानकारी दिए ।

केन्द्रिय तथ्याङ्क विभागका महानिर्देशक सुमनराज अर्यालले सङ्घ, प्रदेश तथा स्थानीय तहसम्म प्रतिष्ठान तथा व्यवसायहरुको व्यावसायिक क्रियाकलाप सम्वन्धी वर्तमान अवस्था थाहा पाउन गणना गर्न लागिएको जानकारी दिए । जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राज बैद्यले गणनाबाट मुख्यतया आर्थिक क्रियाकलापअनुसार प्रतिष्ठानहरुको कुल सङ्ख्या स्थिति सम्वन्धी तथ्याङ्क बताए ।
कार्यक्रमका सभापति एवं नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले ऐतिहासिक यस काममा सहयोग गर्न निजी क्षेत्र तत्पर रहेको बताए । यसले मुलुकको आर्थिक विकासमा सहयोग हुने मल्लले जानकारी दिए ।

तथ्याङ्क सङ्कलनका लागि देशैभरि तीन हजार पाँंच सय जनशक्ति परिचालित हुने कार्यक्रममा जनाइयो । तथ्याङ्क सङ्कलनपछि यसको प्रशोधन, सार्वजनिकीकरणलगायतका पाँंच वर्षे यो योजनाका लागि झण्डै ४० देखि ५० करोड खर्च हुने कार्यक्रममा बताइयो ।