कर बढेको भन्दै चौतर्फी आलोचना खेपिरहेको महानगरले आज यहाँ पत्रकार सम्मेलन गरी विगतको समयमा उपयुक्त मानिएका कतिपय करका दर र दायरा वर्तमान समयमा अव्यावहारिक र अवैज्ञानिक देखिएकाले समय सान्दर्भिक बनाउन करको दर र दायरा बढाएको बताएको हो ।
भरतपुर महानगरपालिकाले आउँदो आर्थिक वर्षसम्ममा आन्तरिक आम्दानी एक अर्ब रुपैयाँ पुर्याउने लक्ष्यका साथ करको दर वृद्धि र दायरा फराकिलो बनाएको जनाएको छ ।
कर बढेको भन्दै चौतर्फी आलोचना खेपिरहेको महानगरले आज यहाँ पत्रकार सम्मेलन गरी विगतको समयमा उपयुक्त मानिएका कतिपय करका दर र दायरा वर्तमान समयमा अव्यावहारिक र अवैज्ञानिक देखिएकाले समय सान्दर्भिक बनाउन करको दर र दायरा बढाएको बताएको हो ।
महानगरपालिकाकी प्रमुख रेणु दाहालले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएको व्यवस्थासमेतलाई आधार मानी व्यवसायको लगानी, पँुजी, व्यवसायको कारोबारका आधारमा केही करका दरलाई मात्रै समयसापेक्ष बनाइएको बताइन् । उनले महानगर हुनका लागि आन्तरिक आम्दानी एक अर्ब रुपैयाँ हुनुपर्ने भएकाले आउँदो आर्थिक वर्षभित्र पु¥याइने लक्ष्य लिइएको जानकारी दिइन् ।
चालू आवमा व्यवसाय करबाट १० करोड, आन्तरिक राजश्वबाट सात करोड र आन्तरिक आयबाट ५३ करोड रुपैयाँ गरी ७० करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य महानगरको छ । गत वर्ष २३ करोड ९८ लाख रुपैयाँ मात्र आन्तरिक आम्दानी भएको थियो । गत वर्ष एक सय १५ क्षेत्रमा कर लगाइएकामा यस वर्ष दायरा फराकिलो पारेर दुई सय आठ क्षेत्रमा कर लगाइएको छ । महानगरको चालू आवको बजेट तीन अर्ब २५ करोड रुपैयाँ छ ।
लामो समय स्थानीय तहमा जनप्रतिनिधि नहुँदा कर्मचारीले जोखिम नलिने भएकाले करको दर र दायरा नबढेको जानकारी दिँदै प्रमुख दाहालले जनमत प्राप्त जनप्रतिनिधिले महानगरको समग्र विकास आन्तरिक आम्दानीबिना गर्न नसक्ने हुँदा व्यवसाय कर र यसका दायरा तथा शुल्कमा केही हेरफेर मात्र गरिएको बताइन् ।
महानगरकी उपप्रमुख पार्वती शाहले निकै मेहनतका साथ करको दायरा बढाएर केही वृद्धि गरिएको बताइन् । उनले महानगरले गठन गरेको राजश्व परामर्श समितिले छलफल गरी केही विषयमा थपघट प्रस्ताव गर्न सक्ने उल्लेख गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले करको वर्गीकरणमा देखिएका समस्या समाधान गर्दै जाने बताए । करको दर बढेकामा विरोध जनाउँदै आएको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष सहनलाल प्रधानले करमा वर्गीकरणको आधार प्रष्ट नभएको, त्रुटि रहेको र वैज्ञानिक नभएको भन्दै सच्याउन आग्रह गरे ।
उद्योग वाणिज्य सङ्घका निवर्तमान जिल्लाअध्यक्ष राजन गौतम सङ्घका उपाध्यक्ष राजु पौडेलले पहिले कर तिरेर समृद्ध महानगर बनाउनु पर्नेमा जोड दिँदै करको दायरा फराकिलो बनाउनु पर्छ भने । रासस