उक्त तथ्याङ्क प्रस्तुत गरेको पाँच वर्ष वितिसक्दा पनि स्वदेशी उद्योगकोे बजारहिस्सा ४५ बाट ४६ प्रतिशत हुन सकेको छैन् । एकातिर सम्बद्ध उद्योगीहरु यो क्षेत्रमा अत्यन्तै सम्भावना छ भन्दै हिड्ने र अर्कोतिर आफ्नो बजार हिस्सा बढाउन कुनै पहल नगर्ने गरेको देखिएको छ ।
‘नेपाल औषधि उद्योगका लागि अत्यन्तै उर्भर भूमी मात्रै हैन्, बजारका हिसावले पनि अत्यन्तै सम्भावना भएको मुलुक हो,’ नेपाल औषधि उत्पादक सङ्घका पूर्व अध्यक्ष महेश गोर्खालीले पाँच वर्ष अघि प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ, ‘नेपाल ठूलो बजार हो, यहाँ उद्योग स्थापना गर्न सके वा भएका उद्योगले आफ्नो क्षमता बढाउन सके स्वदेशी औषधि उद्योगको बजारहिस्सा ४५ प्रतिशतबाट ६० प्रतिशत पुग्न कुनै समय लाग्दैन्, ।’
गोर्खालीले २०६९ सालमा प्रस्तुत गरेको हो यो तथ्याङ्क । उक्त तथ्याङ्क प्रस्तुत गरेको पाँच वर्ष वितिसक्दा पनि स्वदेशी उद्योगकोे बजारहिस्सा ४५ बाट ४६ प्रतिशत हुन सकेको छैन् । एकातिर सम्बद्ध उद्योगीहरु यो क्षेत्रमा अत्यन्तै सम्भावना छ भन्दै हिड्ने र अर्कोतिर आफ्नो बजार हिस्सा बढाउन कुनै पहल नगर्ने गरेको देखिएको छ ।
नेपाल औषधि उत्पादक सङ्घका महासचिव प्रज्वलजङ्ग पाण्डेका अनुसार स्वदेशी औषधिको बजारहिस्सा अहिले पनि ज्यूका त्यू रहेको छ । सरकारी नीति अनुकूल नहुनु, व्यावसायिक वातावरण नबन्नु, उद्योगलाई संरक्षण नदिनुलगायत कारणले गर्दा आज पनि बजार ४५ प्रतिशतमै सिमित भएको उनको भनाइ छ ।
पाण्डेले नेपालमा सञ्चालित औषधि उद्योगले आफ्नो क्षमताको ६० प्रतिशत मात्रै उत्पादन गर्दै आएको बताए । ‘नेपालमा सञ्चालित उद्योगले दैनिक क्षमताको ६० प्रतिशत मात्रै उत्पादन गर्छन्,’ उनले क्यापिटल नेपालसँग भने, ‘उद्योगले पूर्ण क्षमतामा उत्पादन थाल्ने हो भने, तत्काल ६० प्रतिशत बजारहिस्सा स्वदेशी उद्योगको पक्षमा आउँछ ।’
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको सात महिनामा १६ अर्ब ४८ करोड ८३ लाख रुपैयाँबराबरको औषधि नेपाल भित्रिएको छ । त्यसैगरी गत आवको सोही अवधिमा १२ अर्ब ९२ करोड रुपैयाँबराबरको औषधि नेपाल आएको तथ्याङ्कमा देखिएको छ ।
गत आर्थिक वर्षमा २४ अर्ब १८ करोड रुपैयाँबराबरको औषधि नेपाल आएको देखिन्छ । नेपालमा बार्षिक ४० अर्ब रुपैयाँबराबरको औषधिको कारोबार हुन्छ । करिब २४÷२५ अर्ब रुपैयाँबराबरको औषधि विदशबाट आएको देखिन्छ भने, १२ देखि १५ अर्ब रुपैयाँबराबरको औषधि स्वदेशी कम्पनीबाट उत्पादन हुन्छ । यसबाट के कुरा प्रस्ट हुन्छ भने, नेपालमा विदेशी औषधिको आयात दिनप्रतिदिन बढ्दै गएको छ ।
गोर्खालीले आफ्नो प्रस्तुतिमा उल्लेख गरेका छन्, ‘नेपाल औषधिका लागि ठूलो बजार हो ।’ यो कुरा विदेशबाट बढ्दै गरेको आयातको तथ्याङ्कले समेत प्रस्ट पार्छ ।
नेपाल उद्याेग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले सरकारले उत्पादन बढाउन नदिएकाले उद्याेगहरू स्थिर भएर बसेकाे बताए । ‘उत्पादन बढाउँछु भन्दा सरकारी अबराेधले हैरान पार्छ ‘ उनले भने, ‘ यस्ताे अवस्थामा कसरी उत्पादन बढाउने ? ‘
देउराली जनता फर्मास्यूटिकल्स प्रालिका कार्यकारी निर्देशक समेत रहेका शर्माले सरकारी मानसिकता परिवर्तन नहुँदासम्म याे समस्या समाधान नहुने जानकारी दिए ।
लाेमस फर्मास्यूटिकल्स प्रालिका निर्देशक तथा सङ्घका महासचिव पाण्डेका अनुसार नेपालमा अझै पनि नयाँ औषधि उद्योग स्थापना हुनेक्रम बढ्दै छ । केही महिनापछि थप चार नयाँ उद्योग स्थापना हुने उनले जानकारी दिए । सरकारले नीतिगत रुपमा संरक्षण गर्ने हो भने, बजार हिस्सा बढाउन कुनै समस्या नभएको बताए । ‘नयाँ नयाँ लगानीकर्ता यो क्षेत्रमा आइरहेका छन्,’ उनले भने, ‘यदि यो क्षेत्रमा सम्भावना हुदैन्थ्यो भने, लगानीकर्ता किन आउँथे ?’