साँफे—मार्तडी सडक सञ्चालन

सडक डिभिजन कार्यालयबाट सडकको सीमा निर्धारण गर्ने टोली बोलाई मूल्याङ्कन गर्ने र यसअघि भएका दोहोरो अर्थ लाग्ने सर्वपक्षीय भेलाका निर्णयको पुष्ट्याँइका लागि अदालत जाने सहमतिपछि बाटो सञ्चालन भएको प्रहरी नायब निरीक्षक हरिबहादुर ओलीले बताए ।

मुआब्जाका लागि सबै निकायले पहल गर्ने सहमतिसँगै बाजुराको साँफे—मार्तडी सडक खण्ड सञ्चालन भएको छ ।

सडक डिभिजन कार्यालयबाट सडकको सीमा निर्धारण गर्ने टोली बोलाई मूल्याङ्कन गर्ने र यसअघि भएका दोहोरो अर्थ लाग्ने सर्वपक्षीय भेलाका निर्णयको पुष्ट्याँइका लागि अदालत जाने सहमतिपछि बाटो सञ्चालन भएको प्रहरी नायब निरीक्षक हरिबहादुर ओलीले बताए ।

तिपाडामा स्थानीयले बिहान ६ बजेदेखि सडक अवरुद्ध गरेका थिए । सडक सोमबार दिउँसो सञ्चालनमा आएको हो । सरकारले तिपाडा बजार क्षेत्रको मुआब्जा नदिएको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन् । २०७२ सालदेखि नै छलफलको विषय रहेको उक्त सडक क्षेत्रमा राज्यले मुआब्जा दिन ढिलासुस्ती गरेको जग्गाधनी धीरबहादुर सिंहको गुनासो छ ।

सडक कालोपत्रेको प्रक्रियामा रहेपनि स्थानीयले मुआब्जा नपाएसम्म काम गर्न नदिने बताउँदै आएका छन् । जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय र स्थानीय राजनीतिक दलबीच मुआब्जा दिने सहमति भएपनि अहिलेसम्म भुक्तानी भएको छैन ।

पटक पटक भएका निर्णयमा मुआब्जा दिने कुरा भएपनि कति दिने भन्नेमा साझा निर्णय नभएकाले भुक्तानीमा समस्या भएको प्रशासनले बताउने गरेको छ । उनीहरुले बिहानै पर्खाल र तारबारसहित बन्द गरेका थिए ।

सडक अवरुद्ध गरिएपछि करिब छ घण्टा दर्जनौँ सवारी साधनका यात्रु तिपाडामा अलपत्र परेका थिए । जिल्ला बाहिर जान र आउन लागेका दुवैतिरका यात्रु सडक सञ्चालन भएसँगै गन्तव्यतर्फ लागेका छन् ।

आइतबार मात्र प्रशासन कार्यालयमा सहमतिका लागि प्रयास गरिए पनि २०७२ सालको मूल्याङ्कनका आधारमा मुआब्जा दिने कुरा भएपछि आफूहरुले न्यायका लागि सडक बन्द गरेको बताएका छन् । रासस