प्लाष्टिकका भाँडाका कारण गुणस्तरहीन दूध खान बाध्य

दूध प्लाष्टिकका भाँडामा राख्दा त्यसको स्वाद बदलिने पशु उत्पादन निर्देशनालयमा कार्यरत डा सुरेन्द्र झा बताउँछन् । किसानले दूध दुहुँदादेखि संकलन हुने ठाउँ हुँदै शहरी क्षेत्रसम्म ल्याउनका लागि प्लाष्टिकको भाँडा प्रयोग हुने गरेको छ ।

ग्रामीण क्षेत्रमा दूध ढुवानीका लागि प्लाष्टिकका भाँडा प्रयोग गर्दा उपभोक्ता गुणस्तरहीन दूध खान बाध्य छन् ।

दूध प्लाष्टिकका भाँडामा राख्दा त्यसको स्वाद बदलिने पशु उत्पादन निर्देशनालयमा कार्यरत डा सुरेन्द्र झा बताउँछन् । किसानले दूध दुहुँदादेखि संकलन हुने ठाउँ हुँदै शहरी क्षेत्रसम्म ल्याउनका लागि प्लाष्टिकको भाँडा प्रयोग हुने गरेको छ ।

पछिल्ला वर्षहरुमा निर्देशनालयले प्लाष्टिकका भाँडा प्रयोग नगर्न/नगराउन अभियान चलाएको छ । एक दशकयता यस क्षेत्रमा केही सुधार भइरहे पनि पर्याप्त छैन । ‘दूध गोठबाट ओँठसम्म पुग्दा प्लाष्टिकको भाँडा कतै पनि प्रयोग नै नगर्न/नगराउन भने सकिएको छैन’, उनले भने ।

दूध ढुवानीमा प्लाष्टिकको भाँडाको प्रयोग गर्मी महिनामा अझै नराम्रो हुने झाले बताए । ‘प्लाष्टिकका भाँडामा लामो समयसम्म राख्दा दूध चाँडो फाट्छ,’ उनले भने । बजारसम्म पुग्न लामो समय लाग्ने दुर्गम ठाउँमा दूध बाटोमा नै बिग्रँदा संकलकसमेत घाटा बेहोर्न बाध्य हुने गरेका छन् । प्लाष्टिकका भाँडा कम मूल्यमा र सहज रुपमा पाइने हुँदा दूध दुहुन किसानले र ढुवानी गर्न संकलकले यसको बढी प्रयोग गर्दै आएका हुन् ।

सरकारले किसानका क्षेत्रमा काम गर्ने सहकारीमार्फत प्लाष्टिकका भाँडा हटाउन अनुदान सहयोगका कार्यक्रमसमेत गर्दै आएको छ ।