धुलिखेलसम्मको रुट इजाजत आजै पाइने

कोटेश्वरपूर्वका ११ ओटा समितिले अरनिको राजर्मागमा बस चलाउन रोकेपछि सरकारले यस्तो निर्णय गरेको हो ।

इच्छुक व्यवसायी तथा कम्पनीलाई काठमाडौंबाट धुलिखेलसम्मको रुट इजाजत लिन आउन आह्वान गरेको छ । कोटेश्वरपूर्वका ११ ओटा समितिले अरनिको राजर्मागमा बस चलाउन रोकेपछि सरकारले यस्तो निर्णय गरेको हो ।

यातायात व्यवस्था विभागले धुलिखेलसम्म चलाउन इच्छुक यातायात व्यवसायीलाई बुधबार (आज) नै सबै प्रक्रिया पूरा गरी रुट दिने बताएको छ । अत्यावश्यक सार्वजनिक सेवामा समितिहरुले हड्ताल गरेपछि विभागले काठमाडौं उपत्यकामा चलिरहेका अन्य व्यवसायी समिति र कम्पनीहरुलाई धुलिखेलसम्मको रुट इजाजत खुला गरेको हो ।

मयुर यातायातले काठमाडौं–बनेपा रुटमा बस चलाउने अनुमति पाएपछि ११ ओटा समितिले आज ग्रामीण र सहरी दुवै भेगमा बस चलाएका छैनन् । मध्यपुर यातायातले भने सेवा दिइरहेको छ । काभ्रे र भक्तपुरका सडकमा एकाधिकार कायम गरेका समितिहरुले सेवा अवरुद्ध गर्दा यात्रुहरु अलपत्र परेका छन् । नियमित कामका लागि हिँड्ने यात्रुहरु, ग्रामीण भेगमा पुग्नु पर्ने यात्रुहरुलाई यातायात सुविधा नहुँदा धेरै समस्या भएको छ ।

यही समस्यालाई ध्यानमा राखेर विभागले धुलिखेसम्म अन्य व्यवसायीलाई पनि रूट इजाजत दिने निर्णय गरेको हो । ‘जो आएपनि आजै रुट इजाजत दिन्छौँ । व्यवसायीले चाहेअनुसार अस्थायी वा स्थायी दुवै इजाजत दिने निर्णय भएको छ,’ विभागका महानिर्देशक रुपनारायाण भट्टराईले भने, ’धुलिखेलसम्म बस चलाउन चाहने जोसुकैले आजै इजाजत पाउँछन् । सरकारले ती रुटमा चल्ने बसलाई सुरक्षा पनि दिन्छ ।’

उनले सिन्डिकेटको पक्षमा बन्द गरिएका बसहरुको रुट इजाजत खारेजीको प्रक्रिया पनि अघि बढेको बताए । अत्यावश्यक सेवामा हड्ताल गरेर यात्रुलाई दुःख दिने काम जायज नभएको भन्दै भट्टराईले सिन्डिकेटको पक्षमा रहेकाहरुको मागको सुनुवाइ गर्न नसकिने बताए ।

मयुर यातायातलाई बनेपासम्म रुट अनुमति दिएको विरोधमा केही समितिहरुले कोटेश्वरपूर्वको सार्वजनिक यातायातमा बस सञ्चालन गरेका छैनन् ।

विभागले व्यवसायीको अघि घुँडा नटेक्ने भन्दै धुलिखेलसम्मको रुट अनुमति खुला गरेको छ ।